दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालाबीच अन्तरक्रिया
गुल्मी । गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । दलित महिला संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा गुल्मी जिल्लामा अहिलेको दलित आन्दोलनको अवस्था, दलित जनप्रतिनिधिहरुको काम, कर्तव्य र भुमिका, दलित महिलाहरुको अवस्था लगायतका बिषयमा बृहत्तर छलफल गरिएको थियो ।
त्यस अवसरमा जिल्ला समन्वय समिति उप–प्रमुख तुल्सी श्रेष्ठले दलित आन्दोलनलाई अझ सशक्त बनाएर लैजान आग्रह गर्नुभयो । प्रमुख अतिथि श्रेष्ठले अझै पनि समाजमा जातीय विभेदको अवशेष बाँकी रहेकाले यसको व्यवहारिक रुपमा अन्त्यका लागि दलित जनप्रतिनिधिहरुलाई सशक्त रुपमा लाग्न सुझाव दिनुभयो । दलित महिला जनप्रतिधिहरुलाई अझै प्रशिक्षित गर्न आवश्यक रहेकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
दलित अधिकारकर्मी गणेश विश्वकर्माले कानुनी रुपमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा अन्त्य हुन अझै बाँकी रहेकाले यसविरुद्ध लाग्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय दलित आन्दोलन कमजोर हुँदै गएकाले गम्भीर भएर लाग्न आव्हान गर्नुभयो ।
छलफल तथा अन्तरक्रियामा दलित महिला संघ गुल्मी अध्यक्ष बरालले जातीय तथा लैङ्गिक विभेदका कारण समग्र विकासमा अवरोध पुगीरहेको बताउनुभयो । सचेतनाका कार्यक्रमलाई स्थानीय सरकारले बिशेष प्राथमिकतामा राखेर सञ्चालन गनुपर्नेमा बरालले जोड दिनुभयो ।
अन्तरक्रियामा जिल्लाका विभिन्न स्थानीयतहमा निर्वाचित दलित जनप्रतिनिधहरुको सहभागीता रहेको थियो । उनीहरुले स्थानीयस्तरमा पछिल्लो समय दलितहरुका सन्र्दभमा गरेका कार्यहरुको जानकारी गराउँदै आगामी दिनमा गर्नुपर्ने योजनाहरुका बिषयमा जानकारी गराएका थिए ।
पछिल्लो समय दलित समुदायका पेशा–व्यवसाय खोसिदैँ गएकोले यसलाई रोक्न ठोस प्रकारका निति तथा कार्यक्रमहरु बजेट मार्फत सम्बोधन गर्नुपर्ने बताएका थिए । दलित महिला संघ गुल्मी अध्यक्ष कमला बरालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय उप–प्रमुख तुल्सी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
दलित साझा मञ्च गुल्मीका अध्यक्ष एवम मानवअधिकारकर्मी गणेश विश्वकर्मा, जिल्ला समन्वय समिति सदस्य उमा चुँदारा, दलित मुक्ति संगठनका जिल्ला सह–संयोजक धर्म विश्वकर्मा, गुल्मीदरबार गाउँपालिका कार्यपालिका सदस्य इश्वरी परियार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन बिष्णु विश्वकर्माले गर्नुभएको थियो ।