कोरोनालाई ख्याल ख्याल नसोचौं
सम्पादकीय
मुलुकमा कोरोना महामारीको कहर जारी छ । हामीले यसलाई खेलाचींको रुपमा बुभ्mदा र लिंदा यसले मुलुकको अर्थतन्त्रलाई नराम्ररी असर पुर्याइरहेको छ । यसैगरी मानिसहरुको दैनिक जनजीवनलाई पनि यसले प्रत्यक्ष असर मात्र गरिरहेको छैन कि मानिसहरुको दैनिक रुटिनलाई नै परिवर्तन गरिदिएको छ । जसका कारण दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका हरुलाई यसले धेरै नै असर पारेको छ । सहजरुपमा सवारी साधन संचालन हुन नसक्दा आम मानिसहरुको रोजीरोटी नै खोसिन पुगेको छ । महामारीका कारण लामो समयसम्म लकडाउन हुँदा कयौं मानिसहरुको रोजीरोटी गुमेर हातमुख जोर्न पनि धौ धौ परेको अवस्था छ । यो महामारीले अझै कति समयसम्म मुलुकलाई प्रभावित पार्छ र पारिरहने हो यसका बारेमा अहिले नै अनुमान लगाउन सकिने अवस्था पनि छैन ।
कोरोना महामारीका कारण लामो समयदेखि मुलुकका सम्पुर्ण शैक्षिक संस्थाहरु स्कुल, कलेज, सिनेमा हल, मनोरञ्जन स्थलहरु, पार्टी प्यालेसलगायत उद्योग कलकारखानाहरु बन्द हुँदा यसले मुलुकको अर्थतन्त्रमा असर मात्र पारेको छैन कि लाखौ मानिसहरुले रोजगारी गुमाएर बेरोजगार बन्न पुगेका छन् । यद्यपि अहिले लकडाउन खुलेको र हवाइ यातायात र सवारी साधन संचालनमा आएसँगै स्थानीय सरकारहरुले कोरोना महामारीको अवस्था हेरेर बिद्यालय र अरु गतिबिधिहरु संचालन गर्ने निर्णय पनि गरेका छन् । यसवाट केही राहत भने पक्कै मिलेको छ । लामो समयसम्म बिद्यालय संचालन नभएको कारण लाखौं बालबालिका (बिद्यार्थीहरु) को पढाइ नराम्ररी प्रभावित हुन पुगेको छ । बिद्यालयहरुले अनलाइन पद्धतिमार्फत पठनपाठन गरेको दावी गरेपनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन । शहर बजार र इन्टरनेटको पहुँच भएकाहरुले मात्र यसबाट केही सिक्न सकेका छन् भने दुर्गम र दुरदराजमा बसोवास गर्ने बिद्यार्थीहरुका लागि यो अनलाइन पढाइ ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने झै भइरहेको छ । अनलाइन सिकाइका बारेमा पनि धेरै गुनासा बाहिर आएका छन् ।
कोरोना महामारीलाई हामीले ख्याल ख्याल सोचेर अगाडि बढ्न खोज्दा त्यसको असर हामीमा नराम्ररी परेको देखिन्छ । शुरुमा महामारी नफैलदै हतारमा मुलुकमा लकडाउन गरियो । जव यसको असर मुलुकमा बिस्तार भएर जनजीवन नै भयावह र त्रासदीपुर्ण अवस्थामा पुगिरहेको छ । यसले महामारीको रुप लिदै आममानिसहरुमा आतंक सिर्जना गरिरहेको समयमा भने हामी यसको प्रभाव नगरी निर्धक्कका साथ अगाडि बढिरहेको अवस्था छ । जसका कारण दैनिक संक्रमितको संख्या बढेर थामी नसक्नु भएको छ । यो महामारीलाई हामीले ख्याल ख्याल सोच्नु हुँदैन । सरकारले तोकेको मापदण्डको पालना गर्दै सचेत भएर अगाडि बढ्नुको बिकल्प हाम्रो सामु छैन । असोज महिना शुरु भएसंगै कोरोना संक्रमितको संख्या एकदमै बढोत्तरी भइरहेको छ । अहिलेसम्म संक्रमितको कुल संख्या १ लाख नाघिसकेको छ भने ७३ हजार भन्दा बढि संक्रमित निको भएर घर फर्किसकेका छन् । हालसम्म मृत्यु हुनेको कुल संख्या ६ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या २६ हजार नाघिसकेको छ ।