मन्त्रिमन्डल हेरफेर होइन, तीन मन्त्रालयमा मात्र नियुक्ति !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान मन्त्रिपरिषदलाई हेरफेर गर्ने हल्ला चलेपनि तत्काल नगर्ने भएका छन् । हाल रिक्त रहेको तीनवटा मन्त्रालयमा मात्र मन्त्रीहरुको नियुक्ति गर्ने सोचमा प्रधानमन्त्री ओली पुगेको उनी निकट श्रोतले जानकारी दिएको छ । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल बिस्तारको लागि अर्का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक छलफल गरे पनि सरकारमा ल्याउने नेताहरुको नामका बिषयमा आजका दिनसम्म सहमति जुट्न सकेको छैन ।
यही कारण हाल रिक्त रहेको अर्थ, सुचना प्रबिधि तथा संचार र शहरी बिकास मन्त्रालयमा तत्काल मन्त्रीहरुको नियुक्ति गर्ने बिषयमा सहमति जुटेको बताइन्छ । हाल मन्त्रिमण्डल हेरफेर र बिस्तार गर्दा जनतामाझ राम्रो सन्देश नजाने निश्कर्षमा दुवै अध्यक्ष पुगेको जानकारहरुले बताएका छन् । कोरोना महामारीका कारण मुलुकको सम्पुर्ण जनजीवन नै तहस नहस र अर्थतन्त्र नै जर्जर बनिरहेको छ । यो समयमा मन्त्रिमण्डल बिस्तार गर्दा सरकार प्रति राम्रो सन्देश जानुको सट्टा गलत सन्देश जान सक्ने उनीहरुको बुझाई रहेको छ ।
जनता कोभिड १९ महामारीका कारण नराम्ररी थलिएका छन् । यस्तो अवस्थामा सरकारको सम्पुर्ण ध्यान जनताको स्वास्थ्यप्रति केन्द्रित भएर लगाउनुपर्ने समय हो । कसलाई मन्त्री बनाउने र हटाउने खेलमा लाग्दा जनतामाझ गलत सन्देश जानुका साथै बर्तमान सरकारको अलोकप्रियता ह्वात्तै बढ्नसक्ने अनुमान दुवै अध्यक्षले लगाएका छन् । यो कुरालाई मध्यनजर गर्दै उनीहरुले दशैं अगाडि मन्त्रिमण्डल हेरफेर होइन कि खाली रहेका मन्त्रालयमा मन्त्रीहरुको नियुक्ति गरेर अगाडि बढ्ने सोच बाहिर ल्याएका छन् ।
प्रधानमन्त्री ओली र दाहाल दुवैले मन्त्री बनाउने नेताको नाममा सहमति गरिसकेको बताइएको छ ।