कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि प्रचण्डको दौडधुप
सुर्खेत । कर्णाली प्रदेशका नेकपाका संसदीय दल नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव पार्टीको संसदीय दलमा दर्ता गराएका छन् । मुख्यमन्त्रीविरुद्धको अविश्वासका प्रस्तावमाथि छलफल गर्न मंगलबार वैठक बोलाइएको थियो । तर त्यसअघि नै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहले हटाएर नयाँ सचेत नियुक्त गरेका छन् ।
मंगलबार दिउँसो १ बजेका लागि दलको बैठक बोलाएका थिए।
प्रमुख सचेतकको रुपमा नियुक्त भएकी सीताकुमारी नेपालीले अब कात्तिक ७ गते मात्र अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मिति तोकेको प्रदेश सभाका एक सांसदले बताएका छन् ।
आइतबर नेकपाका ३३ मध्ये १८ सांसदले संसदीय दलमा मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीमाथि अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध आइतबार दिउँसो संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि आइतबार साँझ नै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई हटाएको बुझिएके छ ।
प्रमुख सचेतक शाहले मुख्यमन्त्रीसँग परामर्श नगरी संसदीय दलको बैठक बोलाएपछि शाहीले उनलाई हटाएको बुझिएको छ ।
मुख्यमन्त्री शाहीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोजेपछि नेकपाको केन्द्रमा समेत त्यसले तरंग उत्पन्न गरेको छ । पूर्वमाओवादी शाहीलाई हटाउन खोजेपछि पूर्वमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालसँग छुट्टै छलफल गरेका छन् । उनले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिन आग्रह गरेको बुझिएको छ । नेता नेपालले आफ्ना समर्थकहरुलाई प्रस्ताव फिर्ता लिन आग्रह गर्ने बताएपनि ओलीले त्यसबारे कुनै नबोलेको स्रोतको दावी छ ।