बाली तथा पशुपंक्षी बीमा सम्बन्धी अभिकर्ता तालिमको शुभारम्भ
गुल्मी । गुल्मीमा बाली तथा पशुपंक्षी बीमा सम्बन्धी स्थानीय स्रोत व्यक्ति विकासका लागि अभिकर्ता तालिमको शुभारम्भ गरिएको छ । अजोड इन्सोरेन्सको समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीको आयोजनामा तिन दिने अभिकर्ता तालिमको शुभारम्भ गरिएको हो ।
मंगलबार कृषि ज्ञान केन्द्रको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले तालिमको उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा पराजुलीले किसानहरुले लगानी सुरक्षित गर्न नसकिरहेको बताउनुभयो । कृषिमा लगानी गरिसकेपछि पशुहरु मर्ने, बालीनाली रोग प्रकोप लगायतका कारणले उत्पादन घट्ने हुँदा कृषकहरुको लगानी सुरक्षित हुन नसकिरहेको बताउनुभयो ।
आम्दानीका स्रोत बढाउन कृषि र पशुपालनको क्षेत्रलाई जोड दिइएकाले जिल्लामा कृषिका विभिन्न आयोजनाहरु सञ्चालन भईरहेको बताउँदै कृषि र पशुपालनको क्षेत्रलाई बढाउन सकेमात्र युवा जनशक्ति बाहिर पलायन हुने अवस्था नआउने बताउनुभयो ।
अहिले स्थानीय सरकारले पनि कृषिमा विभिन्न प्रकारका अनुदान दिने, बिउहरु, किटनाशक औषधी सुलभ बनाउने र बाँझो जमिन राख्न नदिने लगायतका थुप्रै प्रकारका कार्यक्रमहरु सञ्चालन गरिरहेका उल्लेख गर्नुभयो । यस जिल्लामा कृषि क्षेत्रमा पर्याप्त मात्रामा ध्यान दिईएपनि यो पेशामा लाग्ने किसानहरुको लगानी सुरक्षित नरहेको बताउनुभयो ।
कृषि बजारको व्यवस्थापन तथा उत्पादित सामानहरु विक्रिवितरण सहजका लागि लागि स्थानीयतहरुले कोल्डस्टोर स्थापना गरेका छन् । कृषि मिशनका कार्यक्रमहरु जिल्लामा सञ्चालन भएपनि किसानहरुको आम्दानी बढाएको र उनीहरु उत्सुक बनेको अवस्था कम रहेको बताउनुभयो ।
पराजुलीले बाली तथा पशुपंक्षी बीमा मार्फत कृषकहरुको लगानी सुरक्षित गर्न सकिने दाबी गर्नुभयो । सहभागिहरुलाई तालिमबाट सिकेका ज्ञानलाई कृषकहरु समक्ष पुर्याई उनीहरुलाई बीमासँग जोड्न आग्रह गर्नुभयो ।
वरिष्ठ कृषि प्रसार अधिकृत तथा कृषि फोकल पर्सन शिवसुन्दर घिमिरेले तुलनात्मक रुपमा हेर्दा पशुको भन्दा कृषिको बीमा धेरै कम रहेको बताउनुभयो ।
आर्थिक वर्ष २०७०÷०७१ देखि बाली तथा पशुपंक्षी बीमा बढ्दो क्रममा रहेको उल्लेख गर्दै गत वर्ष मात्र करिब २६ अर्ब रुपैँयाको बीमा गरिएको बताउनुभयो । त्यसबाट करिब १ अर्ब १७ करोड बीमा शुल्क उठेको जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका निमित्त कार्यालय प्रमुख सनबहादुर रानाले यस जिल्लामा पशुपंक्षीको भन्दा बाली बीमा कम भएको बताउनुभयो । तरकारी बाली वा खाद्यान्न बाली बीमा जति मात्रामा हुनुपर्ने हो, त्यसअनुसार हुन नसकेको बताउनुभयो । तालिमबाट सिकेका ज्ञानलाई अभिकर्ताहरुले कृषकहरु समक्ष पुर्याउन सके बाली तथा पशुपंक्षी बीमातर्फ जोड्न कृषकहरुलाई हौसला प्रदान गर्न सकिने उल्लेख गर्नुभयो ।
अजोड इन्सोरेन्सका गुल्मी शाखा प्रमुख सन्तोष न्यौपानेले जानकारीको अभावमा कृषकहरुले आफ्नो बाली तथा पशुपंक्षीलाई बीमासँग जोड्न नसकिरहेको उल्लेख गर्नुभयो । अभिकर्ताहरु मार्फत कृषकहरुलाई बीमासँग जोड्न सजिलो हुने बताउँदै यसले कृषकहरुको उत्पादन सुरक्षित गर्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना गुल्मीका प्रमुख वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले कृषि क्षेत्रलाई आधुनिकीकरण गरि सम्मानजक पेशाको रुपमा विकास गर्दै मर्यादित पेशाको रुपमा विकास गर्ने उद्देश्यले तिन वटै सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
बाली तथा पशुपंक्षीको बीमा नगरिएकाले उद्यमशिलता विकास हुन नसकेको बताउनुभयो । अहिलेको अवस्थामा कृषिमा जोखिम धेरै भएकाले कृषक उद्यमीहरुलाई सहजीकरण गरि व्यवसायीकीकरण गर्न यो बीमाको महत्व रहेको उल्लेख गर्नुभयो ।
तालिमको प्रशिक्षकमा वरिष्ठ कृषि प्रसार अधिकृत तथा कृषि फोकल पर्सन शिवसुन्दर घिमिरे, कृषि अर्थ विज्ञ लोकराज सुवेदी, अजोड इन्सोरेन्स गुल्मी शाखा प्रमुख सन्तोष न्यौपाने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले रहनुभएको छ ।
तालिममा कृषि बीमाबारे जानकारी, बाली तथा पशुपंक्षी बीमा निर्देशिका २०५९, कृषि तथा पशुपंक्षी बीमा गर्ने प्रक्रिया, उत्पादनमा आधारित तरकारी बाली बीमालेख लगायतका बिषयमा जानकारी दिईने बताईएको छ ।