रेसुङ्गा नगरपालिकाको गौरवको खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको गौरवको आयोजना रेसुङ्गा भाडगाँउ, मझेङ खोला खानेपानी आयोजना निर्माणका लागि त्रिपक्षिय सम्झौता गरिएको छ । जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्र्तगत रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि रेसुङ्गा भाडगाँउ, मझेङ खोला खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता गरिएको हो ।
संघीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँची, उपभोक्ता समिति, तथा त्यस खानेपानी आयोजना निर्माणको जिम्मा लिएको कन्काई जयमाता जेभी प्रालिबीच २५ करोड १२ लाख लागत स्टमेटको सम्झौताको गरिएको छ । यस खानेपानी आयोजना २१ महिनाभित्र सम्पन्न गरिसक्नुपर्छ ।
त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका मेयर तथा प्रमुख अतिथि डिल्लीराज भुसालले निकै ठुलो दौडधुपबाट खानेपानी आयोजना पार्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि आफु निरन्तर लागि रहेको भन्दै सबैको सहयोगबाट अहिले यस आयोजनाको सम्झौता गर्न सकिएको उल्लेख गर्नुभयो ।
निरन्तर आफुले नगरपालिकामा सञ्चालन भएका ठुला आयोजनाहरु समयमै निर्माण कार्य सम्पन्न गर्नका लागि दबाब दिईरहेको उल्लेख गर्नुभयो । समयमै निर्माण कार्य सम्पन्न नगर्ने व्यवसायीलाई नछाड्ने दाबी गर्दै मेयर भुसालले गौरवको आयोजनाको रुपमा सञ्चालन भएका आयोजनाहरुको समयमै सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई आग्रह समेत गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले विकास निर्माणको काममा बलौटे नभई चिम्टाईलो भएर काम गनुपर्ने बताउनुभयो । महत्वपुर्ण योजनाको रुपमा रहेको यस खानेपानीको आयोजनालाई समयमै सम्पन्न गर्ने तर्फ सबैको सहयोग रहनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिव वीर बहादुर कार्कीले जिल्लाका राजनैतिक दल विकास निर्माणका कार्यमा बाधक नबन्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीले समयमै योजनाको काम सम्पन्न गरे प्रोत्साहन स्वरुप सम्मान गरिने बताउनुभयो । जिल्लामा थुप्रै ठुला योजना सञ्चालन गरिए पनि कुनै पनि आयोजना समयमै सम्पन्न नभएको पाईएको बताउनुभयो ।
नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले मेलम्ची खानेपानी आयोजना जस्तो ढिलासुस्ती नगरी यस खानेपानी आयोजनाको समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘सिङ्गो देशले प्रतिक्षा गरेको मेलम्ची खानेपानी आयोजना जस्तै बृह्त बनोस् तर मेलम्ची जस्तै ढिला सुस्ती नबनोस् ।’ उहाँले सबै कुरामा राजनीतिलाइे दोष दिन नमिल्ने बताउनुभयो । जनताले सर्वसुलभ ढङ्गले खानेपानी खान पाउने कुरामा राजनैतिक दल बाँधक बन्छ भनेर कल्पना समेत गर्न नसकिने बताउनुभयो ।
संघीय खानेपानी आयोजना अर्घाखाँचीका डिभिजन कार्यालय प्रमुख रामप्रसाद घिमिरेले आयोजनालाई समयमै सम्पन्न गर्नका लागि जिल्लामा रहेका सबै राजनैतिक दल, सरोकारवाला निकायको सहजीकरण तथा सहयोगको आवश्यकता रहने उल्लेख गर्नुभयो । यस खानेपानी आयोजना निर्माण सहजीकरणका लागि ११ सदस्यीय रेसुङ्गा भाडगाँउ, मझेङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको छ ।
जसको अध्यक्षमा थम्मन बहादुर खत्री, उपाध्यक्ष सावित्रा आर्चाय, सचिवमा खगेन्द्र बहादुर के.सी, कोषाध्यक्ष सञ्जीवनी अर्याल रहनुभएको छ । सदस्यहरुमा चेतमान कुँवर, बलबहादुर कुवँर, कल्पना पन्थी, पदमलाल पाण्डे, ओमकला थापा, धर्मराज पाण्डे, भगवती खत्री रहनुभएको छ । यस उपभोक्ता समितिको अस्थायी कार्यालय गुल्मी उद्योग वाणिज्य संघको भवनमा आजै मेयर डिल्लीराज भुसालले उद्घाटन समेत गर्नुभएको छ ।