सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्तावीच झडप, दुई डीएसपी दर्जनौ घाइते

सर्लाही । सर्लाहीमा प्रहरी कार्यालय घेराउ गर्न गएको कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा दुई डीएसपी सहितत केही प्रहरी र स्थानीय घाइते भएका छन् ।
एक दलित व्यक्तिको हत्याको विषयलाई लिएर कांग्रेस नेता तथा सर्लाहीका सांसद अमरेशकुमार सिंहको नेतृत्वमा नाराबाजी गर्दै गएको समूहले प्रहरी कार्यालयमा ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।
रामनगर गाउँपालिका ७ का ६० वर्षीय महेन्द्र राम गतसाता स्थानीयबीचको झगडामा मारिएका थिए । सोही विषयलाई स्थानीयले प्रदर्शन गरेका थिए ।
प्रहरीले घटनामा संलग्न तीनजनालाई घटना भएकै दिन पक्राउ गरेको भएपनि प्रदर्शनकारीले अन्य पनि संलग्न भएको भन्दै प्रदर्शन गरेका हुन् ।
यस्तै स्थानीयले मृतकलाई शहिद घोषणा गर्न र १० लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन् ।
बुधबार प्रदर्शनकारीको ढुंगा लागेर दुई जना डीएसपीसहित २२ जना प्रहरी घाइते भएका छन् । उनीहरुको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनका क्रममा केही कांग्रेस कार्यकर्ता पनि घाइते भएका छन् भने प्रहरीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी र प्रशासनबीच छलफल भएको बताइएको छ ।