गुल्मी प्रहरीले एक महिना नबित्दै चार लाख भन्दा धेरै राजस्व संकलन

सवारी चेकजाँचलाई तिव्र पारिएको एक महिना नबित्दै गुल्मी प्रहरीले चार लाख भन्दा धेरै राजस्व संकलन गरेको छ । नजिकिदैँ गरेका चाडपर्व तथा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गरि सवारी साधन चेकजाँचलाई तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

असोज १ गते देखि २६ गतेसम्म चेकजाँचका क्रममा ६ सय सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट ४ लाख २१ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसी) केदारराज पन्तले जानकारी दिनुभयो ।

कारवाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा धेरै जिप रहेका छन् । २८९ वटा जिपलाई गरिएको कारवाहीबाट २ लाख ७ हजार ५ सय रुपैँया राजस्व संकलन भएको छ । यस्तै ३४ वटा ट्रकलाई गरिएको कारवाहीबाट २१ हजार पाँच सय, ३२ वटा बसलाई गरिएको कारवाहीबाट–२९ हजार, ४८ वटा टेक्टरलाई गरिएको कारवाहीबाट २७ हजार ५ सय राजस्व संकलन भएको छ ।

यस्तै मोटर साइकल र स्कुटी गरि १९४ वटालाई गरिएको कारवाहीबाट १ लाख ३४ हजार, ३ वटा अटोलाई गरिएको कारवाहीबाट २ हजार रुपैँया राजस्व संकलन भएको डिएसपी पन्तले जानकारी दिनुभयो ।

यात्रु सहायता कक्षको स्थापना

नजिकिदैँ गरेका चाडपर्वलाई मध्यनजर गरि जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । प्रत्येक वर्ष चाडपर्वको समयमा प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको सयुंक्त पहलमा यात्रु सहायता कक्षको स्थापना गरिदैँ आएको छ ।

यात्रुहरुको समस्यालाई ध्यान पुर्याउँदै सदरमुकाम तम्घासको बुढाथोकी बसपार्क, उदिनढुङ्गा जिपपार्क र गुल्मीको प्रवेशद्धार रिडि बजारमा लगाएतका नाकाहरुमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले जानाकारी दिनुभयो ।

तम्घास बुढाथोकी बसपार्कमा यात्रु, सवारी चालक, सवारी धनीलाई प्रहरीले पम्प्लेट वितरण समेत गरेको थियो । सहायता कक्षबाट यातायात व्यवसायी, यात्रु र अन्य सरोकारवालाहरुलाई कोरोनाको महामारीका बीच सरकारले जारी गरेका सुरक्षा सतर्कताका मापदण्डहरुलाई अनिवार्य कार्यान्वयन गर्न गुल्मी प्रहरीले आग्रह गरेको छ ।