गुल्मी उद्योग वाणिज्य संघका संस्थापक उपाध्यक्ष पशुपति आमात्यको निधनमा शोक व्यक्त

गुल्मी उद्योग वाणिज्य संघका संस्थापक उपाध्यक्ष पशुपति अमात्यको निधनमा शोक व्यक्त गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा शुक्रबार त्यस संघको सभाहलमा श्रद्धाञ्जली सभाको आयोजना गरि शोक व्यक्त गरेको हो ।

यस जिल्लाका प्रतिष्ठित समाजसेवी एवम व्यवसायी रुरुक्षेत्र गाँउपालिका–१ रिडि निवासी अमात्यको यहि असोज २२ गतेका दिन ८१ बर्षको उमेरमा निधन भएको थियो । उहाँको निधनले गुल्मी उद्योग वाणिज्य संघलाई स्तब्ध बनाएको अध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभयो ।

उहाँको निधनले परिवारजनलाई परेको शोकले गुल्मी उद्योग वाणिज्य संघ अत्यन्त मर्माहत भएको उल्लेख गर्दै स्वर्गीय अमात्यले सामाजिक, धार्मिक क्षेत्रमा पु¥याउनु भएको योगदान अतुलनिय र स्मरणीय रहेको भलामीले बताउनुभयो । गुल्मी उद्योग वाणिज्य संघको २०४३ जेठ ३१ देखि ०४६ साउन १५ गतेसम्म उपाध्यक्ष बन्नुभएका अमात्य तत्कालित रुरुगाँउ पञ्चायतको वडा अध्यक्ष समेत बन्नुभएको थियो ।

अमात्यले रिडि मानव कल्याण वृद्धाआश्रम निर्माणको लागी जग्गा दान, आफ्नै लगानीमा पशुपति धर्मशालाको स्थापना, शैक्षिक क्षेत्रमा क्याम्पस तथा विद्यालय स्थापनामा आर्थिक सहयोग तथा रिडि माध्यमिक बिद्यालयकोे प्राङ्गणमा सरस्वती मन्दिर निर्माणसँगै तथा विद्यालयका २ वटा कोठा निर्माण गरिदिनुभएको थियो ।

नेपाल प्रौढ संगठन रिडिको अध्यक्ष हुँदै रिडिको खानेपानी व्यवस्थापनमा अतुलनीय योगदान दिनुभएका अमात्यले अर्गली पाल्पामा निर्माण भएको सभाहल तथा मन्दिर निर्माणको लागी जग्गादान गर्नुभएको थियो । रुरु क्षेत्रमा मठ मन्दिर व्यवस्थापनमा अतुलनीय योगदान पुर्याउनुभएका अमात्यले सुगन्ध विहार रिडी निर्माणको लागी आर्थीक योगदान पुर्याउनुभएको थियो ।

देवदत्त पार्क रुरु कन्या मन्दिरको संस्थापक अध्यक्ष, ऋषिकेष मन्दिरको परिसरमा रहेको गायत्री मन्दिर निर्माणमा जग्गादान सहित आर्थिक सहयोग, मृत्यु हुनुभन्दा १ महिना अगाडी सुगन्ध बिहारको अक्षयकोष स्थापना गर्नुभएको थियो । अमात्यको निधनमा सदरमुकाम तम्घासका व्यवसायीहरुले विहान ११ वजे सम्म वजार वन्द गरि संघको सभाहलमा आयोजना गरिएको शोक सभामा सहभागी भएका थिए ।

शोक सभामा गुल्मी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष नन्दराम भुसाल, पूर्वअध्यक्षहरु राजेन्द्र प्रसाद श्रेष्ठ, अखिलेश्वर प्रसाद पाण्डे लगायतका संघका वर्तमान पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।