नेकपामा प्रधानमन्त्री ओलीको राईंदाईं, प्रचण्ड निरीह
काठमाडौं । केही समय मत्थर भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक बिवाद पुनः सतहमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्ध नेकपाका सांसदहरुले दिनदहाडै संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा भित्रको आन्तरिक बिवाद फेरि बल्झिएको हो । शाहीलाई मुख्यमन्त्रीबाट हटाउन केही सांसदहरुले संसदीय दलमा अबिश्वास प्रस्ताव दर्ता गरेको र मुख्यमन्त्री शाहीले प्रस्ताव दर्ता गर्न मौन समर्थन गरेको भन्दै सचेतक गुलावजंग शाहलाई पदबाट बर्खास्त गरेपछि केन्द्रमा रहेको बिवाद प्रदेशसम्म पुगेको बताइएको छ ।
मुख्यमन्त्री शाहीले संसदीय दलको सचेतकमा सीतामाया नेपालीको मनोनयन र केही थान मन्त्री नियुिक्तको प्रक्रिया अगाडि बढाएपछि प्रदेशको राजनीतिमा झन् उथल पुथल देखिएको छ । यसरी कर्णाली प्रदेशमा बिवादको बिजारोपणका लागि मुख्य भूमिका खेल्ने नेतामा प्रदेश इन्चार्ज यामलाल कँडेंलको नाम अग्रपंक्तिमा देखिएको छ । उनी लामो समय नेकपाका उपाध्यक्ष बामदेव गौतम निकट रहेर काम गरेका मानिस हुन् । हाल गौतमको पार्टी र सत्तामा कम भुमिका र पहुँच देखेपछि अहिले छेपारोले रङ बदले झै गरी कँडेंल प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट भएर सत्ता परिवर्तनको खेलमा लागेका छन् ।
यसै त प्रधानमन्त्री ओली पार्टीको निर्देशनलाई ठाडै लत्याएर एकलौटी रुपमा अगाडि बढिरहेका छन् । हालै भएको मन्त्रिपरिषद बिस्तारमा उनले अर्का अध्यक्ष र पार्टीका नेताहरुको सहमति नलिएको आरोप छ । सहमतिबेगर नै उनले बिहीवार पार्टी महासचिव बिष्णु पौडेललाई अर्थ मन्त्री, कृष्णगोपाल श्रेष्ठलाई शहरी बिकास र लिला श्रेष्ठलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् । साथै दोलखाका सांसद पार्वत गुरुङलाई संचार तथा सुचना प्रबिधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि गुरुङ जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका थिए ।
लामो समय तीनवटा मन्त्रालय खाली रहेका थिए । मन्त्रालय खाली रहेको भन्दै पार्टीले मन्त्री नियुक्तिको लागि प्रधानमन्त्री ओलीले निरन्तर भनिरहेको भएपनि उनले पार्टी निर्देशनको सुनुवाई गरेनन् । बरु एकाएक पार्टीले दिएको निर्देशनको पालना गर्नुको सट्टा आफु निकटका नेता तथा सांसदहरुलाई मन्त्री बनाएर उल्टै पार्टीलाई चुनौति दिएका छन् ।
कतिसम्म भने उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेलको जिम्मेवारी खोसेर प्रधानमन्त्री कार्यालयमा सीमित बनाइदिएका छन् । यो प्रकरणबाट के कुरा प्रमाणित भएको छ भने प्रधानमन्त्री ओली सामूहिक नेतृत्व र पार्टीको निर्देशन बमोजिम चल्ने नेता होइनन् । आफु त्यसरी नचल्ने सन्देश प्रष्टरुपमा दिएर पार्टीलाई नै चुनौती दिएका छन् । प्रचण्ड हायल कायल
गएको भदौ २६ मा बसेको नेकपा स्थायी समिति बैठकले आगामी दिनमा राजनीतिक नियुक्ति गर्दा पार्टीबाट स्वीकृति लिएर मात्र गर्नुपर्ने निर्णय गरेको थियो । त्यो निर्णय भएको ठीक एक महिना पुगेर केही दिन बित्न नपाउँदै प्रधानमन्त्री ओलीले तीन जना मन्त्रीहरुको नियुक्ति गरेका छन् । यसैगरी यसअघि नै मुख्य सचिव, बेलायत र अमेरिकाकाका लागि राजदुत नियुक्तिको काम पनि मनोमानी ढंगले सम्पन्न गरिसकेका छन् । प्रधानमन्त्री ओलीको यो व्यवहारबाट नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हायलकायल बन्न पुगेका छन् ।
‘दिनभरि कुर्याे बुढी ज्युँदै’ भन्ने उखानसँग मेल खानेगरी प्रधानमन्त्री ओलीले एकपछि अर्को राजनीतिक नियुक्ति गरिरहेका छन् । पछिल्ला मन्त्रीहरुको आगमन र नियुक्तिलाई यहि रुपमा हेरिएको र बुझिएको छ । कुनै समय झलनाथ खनाल, ओली र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने र प्mँयाक्ने ताकत राख्ने प्रचण्डहरु अहिले एकजना मन्त्रीसमेत बनाउन नसक्ने हैसियतमा पुगेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डलाई यो हालतमा पुर्याइदिएपछि उनी बिरक्तिदै आप्mना साथीहरुसँग यस्तो किसिमको गुनासो गर्दै हिंडेको बताइएको छ । त्यस माथि पनि आप्mनै दलका नेताहरुलाई उक्साएर कर्णाली प्रदेशको मुख्यमन्त्री फेरबदल गर्ने योजना सतहमा आएपछि प्रधानमन्त्री ओलीको अगाडि आफु निरीह हुनुपरेको भन्दै बालुवाटार तिर हुने भेटघाटलाई पनि बन्द गरिदिएका छन् ।
मुख्यमन्त्री हटाउने खेलपछि असन्तुष्ट बनेका कर्णाली प्रदेशका नेताहरुलाई प्रधानमन्त्री ओलीले भेट दिएका छैनन् । प्रधानमन्त्री सँग भेटघाट हुन नसकेका कारण उनीहरु प्रदेश फर्कन पाएका छैनन् । अर्का अध्यक्ष प्रचण्डसँग कर्णालीका नेताहरुको बारम्वार भेट भएपनि निकासका लागि प्रधानमन्त्रीसँग भेट गर्न आवश्यक ठानेका छन् । उनीहरुले प्रधानमन्त्रीसँग भेट गर्न खोजेपनि राजा, महाराजा झै गरी प्रधानमन्त्री ओलीले दर्शन भेटका लागि आनाकानी गरेर लड्काइ रहेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, पार्टी अध्यक्ष गोरख बहादुर बोगटी, प्रदेश कमिटीका सह इन्चार्ज यामलाल कंडेल, प्रमुख सचेतकबाट बर्खास्तगीमा परेका गुलावजंग शाह प्रदेश कमिटीका सचिव माया प्रसाद शर्मा, प्रकाश ज्वाला, चन्द्र बहादुर शाही लगायत ओली, प्रचण्ड र माधव नेपाल गुटका नेताहरु काठमाडौंमा नै थन्किन पुगेका छन् ।