राष्ट्रपति, पूर्वराजा र प्रधानमन्त्रीले टीका नलगाइदिने

काठमाडौं । यसपालीको बिजयादशमीको दिनमा सर्वसाधारण नागरिकलाई पुर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले टीका नलगाइदिने भएका छन् । हरेक बर्ष सर्वसाधारण नागरिकहरुलाई राष्ट्र प्रमुख र सरकार प्रमुखले दशैं अर्थात बिजयादशमीको दिनमा टिका र जमरा लगाइदिने परम्परा रहि आएको छ ।
तर यो बर्ष कोरोना महामारीको बढ्दो कहरका कारण उनीहरुले सर्वसाधारण नागरिकहरुलाई टिका नलगाईदिने भएको बताइएको छ । पुर्व राजा ज्ञानेन्द्रले प्रेस नोट नै जारी गरेर सर्वसाधारण नागरिकलाई यो बिषयमा जानकारी गराईसकेका छन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एउटा सार्वजनिक कार्यक्रममा बोल्दै बिजयादशमीको दिनमा आफुले सर्वसाधारण नागरिकहरुलाई टिका नलगाइदिने जानकारी केही दिन अगाडि गराएका छन् ।
यस बिषयमा राष्ट्रपति कार्यालयले भने आप्mनो धारणा बाहिर ल्याइसकेको छैन । उसले यो बिषयमा आप्mनो आधिकारिक धारणा छिट्टै सार्वजनिक गराउने जानकारी दिएको छ । राष्ट्रपति भण्डारीका निजी सचिव डा.भेषराज अधिकारीले यो बिषयलाई सार्वजनिक गरेर सर्वसाधारण नागरिकहरुलाई जानकारी गराउने बिषयमा तयारी भइरहेको बताएका छन् ।
सरकारले मुलुक कोरोना महामारीको उच्च जोखिममा रहेको कारण देखाउँदै कुनै पनि किसिमका सार्वजनिक कार्यक्रमहरु गर्न बन्देज लगाएको छ । सभा सम्मेलन र भिडभाड हुने सवै कार्यक्रमहरुलाई सरकारले गत चैत्र महिनादेखि नै बन्देज लगाउँदै आएको हो ।
यसैबिच वडा दशैंको अवसरमा सरकारले शक्तिपिठहरुमा पुजाआजा र बलि चढाउनका लागि पनि निषेध गरेको छ । राष्ट्रप्रमुख उपस्थित हुने र पुजाआजा गर्ने सवै कार्यक्रमहरु पनि स्थगित गर्दै यो वर्ष यस्ता कुनै पनि गतिबिधि नगर्न र कार्यक्रम आयोजना नगर्न पनि सरकारले सवैसँग अनुरोध गरेको छ ।