शुभ रहोस् बडा दशैं

सम्पादकीय

सम्पूर्ण नेपालीको मुख्य चाडपर्वहरु बडा दशैं, तिहार र छठलगायतका पर्वहरु घर र आँगनमा आइसकेका छन् । हरेक वर्ष यी चाडपर्वहरुलाई हिन्दु र बौद्ध धर्मावलम्वीहरुले बढी प्राथमिकता दिएर मनाउँदै आएका छन् । यी बाहेक नेपाल भित्र र बाहिर जहाँसुकै बसोवास गरेको भएता पनि यी पर्वहरुलाई संझना स्वरुप भने पनि भव्यरुपमा मनाउने परम्परा रही आएको छ । नेपालबाहेक अन्य जुनसुकै मुलुकहरुमा बसोवास गरेको र जुनसुकै जात, धर्म र लिङ्गका नेपाली समुदायहरुले पनि यो पर्वलाई धुमधामका साथ मनाउने गरेका छन् । नेपाल बाहिर रहेर घर फर्कन नसकेका नेपालीहरुले पनि आप्mनो परम्परा र रीतिरिवाज अनुसार संभवभएसम्म आप्mनै तरिकाले मनाउँदै आएका छन् ।
तर यसपाली अवस्था बिल्कुलै भिन्न छ । वर्ष दिनमा आउने चाड पर्वमा स–परिवार भेट भएर वा संभव भएसम्म एकै ठाउँमा उपस्थित भएर मनाउने अवस्था छैन । लामो समयदेखि नेपाललाई मात्र नभएर सम्पुर्ण बिश्वलाई नै कोरोना महामारीले नराम्ररी दुःख दिइरहेको अवस्था छ । यस कारण पनि परम्परागत रुपमा नेपालीहरुले परापूर्वकालदेखि चली आएको र मान्दै आएको परम्परालाई सहजरुपमा एकै ठाउँमा जम्मा भएर मान्न सक्ने अवस्था नहुँदा केही खल्लो महसुस गरिरहेका छन् । हो, बर्षमा एकदिन आउने चाड पर्वहरुलाई सकेसम्म हर्षोल्लासका साथ मनाउनै पर्ने हो । तर अहिले मुलुकमा फैलिइरहेको महामारीलाई मनन गर्ने हो भने अवस्था एकदमै बिल्कुलै र भिन्न छ । घर छोडेर रोजगारी, पठन पाठन वा अन्य कामको लागि घर बाहिर गएकाहरु पनि सजिलो गरी घर फर्किने अवस्था छैन । सरकारले पनि सकेसम्म जहाँ र जुन ठाउँमा बसोबास गरिरहेको हो सोही ठाउँमा बसेर चाडवाड मनाउनका लागि निरन्तर रुपमा आव्हान गरिरहेको छ । चाडवाड मनाउने नाममा ओहोरदोहोर गर्दा शहरवाट गाउँघर र गाउँघरवाट शहरसम्म महामारीको संक्रमण फैलिएर अवस्था भयावह हुनसक्ने सरकारको तर्क छ । यसतर्फ सतर्क भएर जोगिनु नै अहिलेको एकदमै उत्तम उपाय हो ।
ज्यान बच्यो भने बडा दशैं, तिहार र छठलगायतका पर्वहरु अर्को वर्ष पनि एकै ठाउँमा परिवार भेटघाट र जमघट भएर मीठो मसिनो खान सकिन्छ । तर ज्यानै रहेन र बचेन भने के गर्ने यसतर्फ सवै नेपालीको ध्यान जान जरुरी हुन्छ । हिजो घरघरमा घटस्थापना गरेसँगै वडादशैं शुरु भइसकेको छ । अव सकेसम्म हुलहुज्जत नगरीकन सरकारले लागू गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै यसपालीको दशैं मनाऔं । चाडपर्व मान्ने नाममा जथाभावी हिंडडुल नगरौ, आफु र परिवारका सदस्यलाई संक्रमित बनाएर भविष्य अन्धकार नवनाऔं । बडा दशैं सम्पूर्ण नेपालीको शुभ रहोस् । सम्पूर्ण पाठकवर्ग, बिज्ञापनदातालगायत शुभेच्छुकहरुमा बडादशैं २०७७ को यही हार्दिक मंगलमय शुभकामना ।