गुल्मी प्रशासनद्वारा मन्दिर जान निषेधाज्ञा
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान निषेधाज्ञा जारी गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले एक सूचना जारी गर्दै सम्पूर्ण शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान सर्वसाधारणलाई निषेधाज्ञा जारी गरिएको बताउनुभयो । उहाँले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई मन्दिर नजान आग्रह गर्नुभएको छ ।
तीव्र रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को संक्रमण जिल्लाका विभिन्न स्थानहरूमा फैलिरहेको रहेको हुनाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बडा दशँै लगायतका चाडपर्वमा जिल्लामा रहेका सम्पुर्ण शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान सर्वसाधारणका लागि निषेधाज्ञा जारी गरिएको शर्माले बताउनुभयो ।
जिल्लाबासीलाई आफ्नै घरमा पुजापाठ र वली दिने कार्य गर्न समेत प्रजिअ शर्माले आग्रह गर्नुहुँदै भन्नुभयो, “कोहि कसैले निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कानुनी कारबाही गरिनेछ ।’