उद्योग वाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन प्रक्रिया शुरु भएको छ । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
आज वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको समूहका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
ढकाल प्यानलको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् ।
गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो । पछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
महासंघको चुनावका लागि उम्मेदवारहरुले बुधबारदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्नेछन् । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको निर्वाचत समितिले जनाएको छ ।