एक बिपन्न परिवारलाई बस्नेत संघद्वारा घर निर्माण

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमिचौर मौले थाम्काकी ६५ वर्षीय रामकली बस्नेतको विगतका तीन वर्ष छुहिने छानो मुनि बित्यो । सुस्तमनस्थिति समेत हुनुभएकी बस्नेतका श्रीमान पाँच वर्ष अघि खसे । उहाँका दुई छोरी हुनुहुन्छ । दुई छोरीको बिहे भइसक्यो । अहिले कान्छी छोरीले उहाँको हेरचाह गर्दैआउनुभएको छ । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ । आर्थिक स्रोत आउने कतै ठाउँ छैन् ।

तर अहिले रेसुङ्गा नगरपालिका–१० वडाकार्यालयको समन्वयमा त्यस वडाका वडाअध्यक्ष पदमप्रसाद अर्याल तथा बस्नेत संघ गुल्मीको पहलमा बस्नेतको घर निर्माण गरिएको छ । उहाँको घर निर्माणका लागि रेनबहादुर बस्नेतको संयोजकत्वमा घर निर्माण समिति निर्माण गरिएको थियो । करिब एक लाख ७ हजार भन्दा धेरैको लागत तथा श्रमदानमा दुई कोठा सहितको एकतले घर निर्माण गरिएको हो ।

बुधबार वडाअध्यक्ष अर्यालले रिबन काटेर नयाँ घरको उद्घाटन गर्नुभएको छ । घर निर्माणका लागि रेसुङ्गा नगरपालिकाबाट टिन उपलब्ध गराएको अर्यालले बताउनुभयो । रेसुङ्गा नगरपालिकाको बिपन्न कार्यक्रम रहेकोले नगरभित्रका बिपन्न परिवारलाई टिन उपलब्ध गराउँदै आएको वडाअध्यक्ष अर्यालले बताउनुभयो । बस्नेतलाई अहिले वडा कार्यालयले चामल, नुन, तेल लगायतका खाद्यान्न समेत उपलब्ध गराएको वडाअध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा बस्नेत संघ जिल्ला कार्य समितिका अध्यक्ष देब बहादुर बस्नेतको अध्यक्षता तथा वडाअध्यक्ष अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीय समाजसेवी जयप्रसाद अर्यालको बिशेष आतिथ्यता रहेको थियो । यस्तै टोप बहादुर बस्नेत, नेत्र बहादुर बस्नेत, बस्नेत संघका कोषाध्यक्ष लिल बहादुर बस्नेत लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सुनिल बस्नेतले गर्नुभएको थियो ।