‘रअ’ प्रमुखको वालुवाटार प्रवेशले राजनीतिमा तरंग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारतीय गुप्तचर संस्था ‘रिसर्च एण्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्तकुमार गोयलले स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गरेर बुधबार बेलुका गोयलसँग बालुवाटारमा भेट भएको जानकारी दिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गोयलसँग शिष्टाचार भेट भएको जनाएका छन् ।
थापाले भनेका छन्, ‘रअ का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।’
भेटका क्रममा प्रधानमन्त्री ओली र गोयलबीच नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा कुराकानी भएको थापाले जानकारी दिएका छन् । बुधबार दिउँसो काठमाडौँ आइपुगेको गोयलको नौ सदस्यीय टोली बिहीबार बिहान स्वदेश फर्किएको छ ।
गोयलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता मावधकुमार नेपाल, विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेको सुरक्षा स्रोतको दाबी छ । तर दाहाल, नेपाल र देउवाको सचिवालयले भने गोयनसँग भेट नभएको दाबी गरेका छन् ।
प्रधानमन्त्रीले रअ प्रमुखलाई भेटेको विषयले नेकपाभित्र तरंग उपत्पन्न भएको छ । नेकपाका नेता भीम रावलले प्रधानमन्त्री र गोयलको भेटलाई कूटनीतिक मर्यादाविपरित र आपत्तिजनक भएको टिप्पणी गरेका छन् । उनले ट्वीटमा लेखेका छन् “नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ ।”
रअ प्रमुख गोयल किन नेपाल आए भन्ने आधिकारिक कसैले बताएको छैन । न त नेपालले नै भनेको छ न त भारतले नै । तर उनी नेपाल आउनुमा नेपाल–भारत सीमा समस्या, भारतीय सेना प्रमुख एमएम नरवाणेको आसन्न नेपाल भ्रमण र नेकपाभित्रको राजनीतिक विवादको विषयमा बुझ्न उनी नेपाल आएको हुन सक्ने रानीतिक तथा कूटनीतिक विश्लेषकहरुको विश्लेषण छ ।