रेसुङ्गा हस्पिटलमा विदाई तथा स्वागत
गुल्मी । जिल्लामै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि निजि क्षेत्रबाट पनि पर्यत्न भईरहेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभएको छ ।
हिन्दूहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बुधबार सदरमुकाम तम्घासमा रेसुङ्गा हस्पीटल प्रालिले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा कर्मचारी विदाई एवं स्वागत कार्यक्रममा अध्यक्ष भलामीले यस्तो बताउनुभएको हो । अस्पतालका सल्लाहकार एवं पूर्व अध्यक्ष समेत रहनुभएका भलामीले त्यस अस्पतालको विकासका लागि अहिले तदारुक्ताका साथ लागिपरेको बताउनुभयो ।
निजि क्षेत्रबाट पनि यहाँका जनताहरुलाई सर्वसुलभ एवं गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस हस्पीटलको स्थापना गरिएको भन्दै यसको विकासका लागि पनि निजि क्षेत्रको ठुलो सहयोग रहनुपर्ने बताउनुभयो । भलामीले हस्पीटल व्यवसायिकमूखी भन्दा पनि सेवामूलक क्षेत्र भएको उल्लेख गर्नुभयो ।
बिशेष अतिथि डा.लक्ष्मण भुसालले जिल्लामै हुने उपचारहरु उपकरण तथा जनशक्तिको अभावमा बाहिर पठाउनु पर्ने बाध्यता रहेकाले यसलाई रोक्ने गरि यस अस्पतालले कार्ययोजना बनाउनुपर्ने बताउनुभयो । त्यस अस्पतालको शेयर सदस्य समेत रहनुभएका डा.भुसालले अस्पताल स्थापनाको पाँच वर्ष सोही अस्पतालमा रहि सेवा गर्नुभएको थियो ।
सोही अवसरमा थप अध्ययनका लागि यस अस्पतालमा करिब एक वर्ष सेवा गरि जान लाग्नुभएका डा.विपिन भण्डारी, तथा अनमी कविता भुजेल, अहेब बिष्णु टण्डनलाई विदाई गरिएको थियो । नयाँ नियुक्ती पाउनुभएका ३ जनालाई कर्मचारीलाई अस्पतालले स्वागत गरेको थियो ।
रेसुङ्ग हस्पीटलका सञ्चालक हरिकुमार श्रेष्ठ, नवराज मरासिनीले शुभकामना मन्तव्य राख्दै जिल्लामा निजि क्षेत्रबाट पनि सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि यस अस्पतालले महत्वपुर्ण योगदान पुर्याउने बताउनुभयो ।
रेसुङ्गा हस्पीटल प्रालिका कार्यकारी अध्यक्ष होम बहादुर पल्लीले अस्पतालले अहिले आफ्नै नाममा केही जग्गा खरिद समेत गरेकाले निकट भविष्यमै आफ्नै भौतिक संरचनाबाट स्वास्थ्य सेवा उपलब्ध गराउने योजनामा रहेको बताउनुभयो ।
अहिले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९को कहरका कारण ढिलाई भइरहेको उल्लेख गर्दै यस अस्पताललाई एक नमुना अस्पतालको रुपमा विकास गर्ने बताउनुभयो ।
अस्पतालका सञ्चालक गोपाल पन्थीले कार्यक्रमको सञ्चालन गर्दै सञ्चालक, कर्मचारी, सबैको सहयोग अनुभवद्वारा अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र सर्वसुलभ बनाउँदै लैजाने बताउनुभयो ।
कार्यक्रममा विदाई भएर जानुभएका डा.भण्डारी, अनमी भुजेल, अहेब टण्डनले अस्पतालमा रहि पुर्याएको योगदानको सम्मान गर्दै आगामी दिनमा प्रगतिको कामना समेत गरिएको थियो ।