एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गुल्मीको रेसुङ्गा नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि यहि कार्तिक १५ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।

एक जना कर्मचारीमा संक्रमण देखिएसँगै बुधबार २० जना भन्दा धेरैको स्वाब संकलन् गरिएको मेयर डिल्लीराज भुसालले जानकारी दिनुभयो । गुल्मीमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ६९८ पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार संक्रमितमध्ये ६३२ जनाले कोरोना भाइरस जितेर निको भएका छन् । अहिले ५८ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखेर जिल्लाका ९३ स्थानमा ७९० बेड क्षमताको क्वारेन्टीन निर्माण गरिएको छ । १५३ बेड क्षमताको आइसोलेशनमा अहिले ५३ जना रहेका छन् । अहिलेसम्म ५ हजार ८७ जनाको स्वाब संकलन गरिएकोमध्ये ५ हजार ८२ जनाको स्वाब परिक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण जिल्लामा ८ जनाको ज्यान गइसकेको छ ।