गुल्मीको रेसुङ्गामा पौवा रिसोर्ट सञ्चालन
गुल्मीको ऐतिहासिक, धार्मिक एवम पर्यटकीयस्थल रेसुङ्गामा होटल पौवा प्रालिले सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएको छ । समुद्र सतह देखि २ हजार ३४७ मिटर उचाइमा रहेको पवित्र पावन भूमि रेसुङ्गामा सोमबार पत्रकार सम्मेलन गरि पौवा रिसोर्ट सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभएको थियो ।
रेसुङ्गामा करिव १० करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सञ्चालनको लागि पौवा होटललाई रेसुङ्गा नगरपालिकाले अनुमति प्रदान गरिएको थियो । २०७६ कात्तिकबाट निर्माण सुरु गरी २०७७ असोजबाट संचालन गर्ने गरी रेसुङ्गा नगरपालिका र पौवा होटलबीच सम्झौता भएको थियो । यसले रेसुङ्गा पोखरी क्षेत्र नजिकै ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने छ ।
पौवा होटेलले २५ वर्षका लागि रिसोर्ट सञ्चालन गर्न पाउने सम्झौता अनुसार शुभारम्भमा अहिले करिब दुई करोड लगानी गरिएको छ । यसमा १० करोड भन्दा बढी लगानी गर्ने तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । यसबाट पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने भण्डारीले विश्वास व्यक्त गर्नुभयो । पौवाले रिसोर्ट निर्माण अवधिको पहिलो चार वर्ष नगरपालिकालाई भाडा बुझाउनुपर्ने छैन । त्यसपछि पाँच वर्षका लागि प्रति वर्ष ५० हजार, त्यसपछिका पाँच वर्षका लागि ७५ हजार र त्यसपछिको १० वर्षको लागि एक लाखका दरले भाडा बुझाउने सम्झौतमा उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेशकै ऐतिहासिक पवित्र पवित्रस्थल रेसुङ्गा भूमिको भर्जिनिटीलाई जोगाइ राख्दै उत्कृष्ट सेवा प्रदान गर्ने पौवा रिसोर्टको लक्ष्य रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । होटल पौवाका प्रबन्ध निर्देशक बिष्णु ज्ञवालीले रेसुङ्गाको प्रचार–प्रसार गर्दै बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्नका लागि होटल पौवाको आतिथ्यताले ठुलो मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
‘हामीले उत्कृष्ट सेवा र नेपाली अतिथ्यताले विगतदेखि नै हाम्रा उपभोक्ताहरुलाई सन्तुष्टि दिँदै आएका छौँ ।’ ज्ञवालीले भन्नुभयो ‘यस क्षेत्रको भ्रमणका लागि सुविधा विस्तार गर्दैछौँ ।निकट भविष्यमा नै स्टार सहितको सेवा दिने लक्ष्यमा रहेका छौँ ।’ उहाँले निकट भविष्यमै योगा, मेडिटेशनको व्यवस्था समेत मिलाउने जानकारी दिनुभयो । साहित्य अनुरागीहरुलाई मध्यनजर गर्दै साहित्यक रचनाका लागि पौवा रिसोर्टमा आमन्त्रित गर्ने योजना बनाएका बताउँदै ज्ञवालीले समय–समयमा साहित्यक महोत्सव समेत आयोजना गरिने उल्लेख गर्नुभयो ।
‘भर्जिन रेसुङ्गाको अपूर्ण प्रचारप्रसारको खाँचो भने निकै धेरै छ । पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय स्थलको खोजी, जति महत्वपूर्ण छ, त्यति नै गम्भीर बन्नुपर्ने विषय हुन्छ ।’ ज्ञवालीले भन्नुभयो ‘पर्यटकीय पूर्वाधारको विकास भएन भने ती पर्टकीय केन्द्रहरु कस्तुरीको नाभिमा रहेका बिना जस्तै हुन् ।’
रेसुङगा, पाल्पा ,वुटवल, भैरहवा, गोरुसिङ्गे, भालुवाङ, लमही, जुम्लावाट सेवा दिदैँ आएको पौवाले देशभरवाट आफ्नो सेवा दिने लक्ष्य रहेको पौवा रिसोट सञ्चालक धुर्व न्यौपानेले जानकारी दिनुभयो ।अयोध्याका श्रद्धालु भक्तजनलाई रेसुङगा ल्याउनुका साथै रेसुङगाको पर्यटकीय क्षेत्रलाई लक्षित गरि पौवा रिसोट रेसुङ्गामा ल्याईएको न्यौपानेले बताउनुभयो ।
रेसुङ्गा क्षेत्रमा कैयौँ बोटवृक्ष, वनस्पति, जीवजन्तुर बुहुमुल्य जडिबुटीहरु पाइन्छ । रेसुङ्गा प्राकृतिक धार्मिक ऐतिहासिक पौराणिक, बिशेषताहरुले भरिपूर्ण रहेको छ । रेसुङ्गा क्षेत्रले यहाँको वनक्षेत्र, आश्रय धर्मक्षेत्र, मठमन्दिर, पँधेरो, बुण्ड, पोखरी, पार्टी पौवा यज्ञशाला, गौशाला एवम् भग्नाशेषहरुलाई समेट्छ । यसक्षेत्रमा २०९ प्रजातिका चराहरु पाइनुका साथै चितुवा, मृग, घोरल, खरायो, कालिज, जस्ता पशुपंक्षि तथा जनावर पाइन्छन् ।
भगवान राम र लक्ष्मण ऋष्य श्रृङ्गको दर्शन गर्न आउँदा के समस्या छ भनि सोध्दा ऋषिले पानीको समस्या छ भनेपछि धनु वाणले हानेर पानी निकालेर रामकुवा बनेको मान्यता रहेको छ । जोगमणी सन्तपरम्पराको प्रवर्तक शशिधर स्वामीको जन्म पनि रेसुङ्गा नै भएको थियो । यहाँबाट उत्तरतिर फर्किदा अन्नपूर्ण प्रथम, दोश्रो र तेश्रो, धौलागिरी, माछापुच्छ«े लगायत १५ भन्दा बढी हिमालको एकैपटक मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।