भारतीय सेनाध्यक्ष नरुवणे नेपाली सेनाको १८औँ मानार्थ महारथी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित एक समारोहका बीच उनलाई मानार्थ महारथीको चिन्ह प्रदान गरिएको हो । नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे भारतीय सेनाका १८औं सेना प्रमुख भएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेना र भारतीय सेनाले एक–अर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने चलन सन् १९५० बाट शुरु भएको हो । उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख के एम करिअप्पा हुन् ।


सोही परम्परा अनुसार नेपाली सेनाका वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई वर्ष पहिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए।
प्रधानसेनापति थापाको विशेष निमन्त्रणामा भारतीय सेना प्रमुख सम्मान ग्रहण गर्नका लागि बुधबार नेपाल आएका थिए ।
दुई देशका सेनाबीचको यो परम्पराले आपसी सम्बन्ध थप मजबुद बनाउने विश्वास गरिएको छ ।
भ्रमणकै क्रममा सेनाध्यक्ष नरवणेले नेपाली सेनालाई दुई वटा फिल्ड अस्पताल स्थापनाका लागि स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
नेपाली सेनाले पनि भारतीय सेनालाई नेपालमा बनेका एक लाख थान मास्क प्रदान गरेको छ ।
सम्मान प्रदान पछि राष्ट्रपतिसँग उनकोको शिष्टाचार भेटवार्ता भएको छ । भेटपछि प्रधानसेनापति थापाले नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्।


शुक्रबार बिहान माउण्टेन फ्लाइटमा उनलाई सोलुखुम्बु लैजाने तयारी रहेको सेनाले जनाएको छ । नेपाली सेनाको हेलिकोप्टरमा त्यहाँ गएर उनले सगरमाथा लगायत हिमालको अवलोकन गर्ने छन्।
त्यसपछि आर्मी कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शुक्रबार रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि नरवणे स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।