गुल्मीका किसानलाई धान भित्र्याउन भ्याई–नभ्याई
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरका गोरे विक अहिले धान खेती स्यार्न व्यस्त हुनुहुन्छ । उहाँले विगत १२ वर्ष देखि इस्माकै चौरासी फाँटमा अधियाँमा धान खेती गर्दै आउनुभएको छ । ‘पहिले भन्दा अहिले धान पनि अलि राम्रो फलेको छ । हामी सबै घरका सदस्यहर मिलेर काम गर्दै आएका छौं ।’ विकले भन्नुभयो । ‘यस वर्ष पर्याप्त मात्रमा पानी परेकाले धान उत्पादनमा वृद्धि भएको हो ।’
उहाँमात्र होइन धुर्कोट गाउँपालिका–३ बेल्टारीका रामु खड्का पनि यतिबेला धान खेती भित्र्याउन व्यस्त हुनुहुन्छ । खड्काले पनि चौरासी फाँटमा नै धान खेती गर्दै आउनुभएको छ । अहिले पर्याप्त पानी परेकोले धान उत्पादनमा वृद्धि भएको खड्काले बताउनुभयो । ‘कोरोना भाइरसको कारणले अहिले धेरै युवा गाउ फर्किएकाले धान रोप्न र स्यार्न पनि सजिलो भयो ।’ खड्काले भन्नुभयो ।
मदाने गाउँपालिका–१अग्लुङ्गका धनबहादुर विश्वकर्माले पनि धान उत्पादनमा पहिलेको तुलनामा अहिले वृद्धि भएको बताउनुभयो । ‘अहिले घरपरिवार मात्र मिलेर धान रोप्यौं ।’ विश्वकर्माले भन्नुभयो ‘अहिले आकाशे पानी पर्याप्त परेकाले टारी खेतमा समेत धान उत्पादनमा वृद्धि भएको छ ।’
रासायनिक मल पर्याप्त मात्रामा नपाए पनि गतबर्ष भन्दा यो वर्ष पर्याप्त मात्रामा आकाशे पानी परेकाले धान उत्पादनमा वृद्धि भएको कृषकहरुको भनाई छ । यतिबेला गुल्मीका कृषकहरुलाई धान खेती भित्र्याउन भ्याई–नभ्याई भएको छ । जिल्लाका १२ वटै स्थानीयतहका कृषकहरु धान खेती भित्र्याउन व्यस्त देखिएका हुन् ।
अहिले खेतमा धान पाकेको छ । किसानहरु धान काट्न अनि धानलाई घरभित्र स्यार्न मै व्यस्त छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को कारण अहिले धेरै युवा गाउँ फर्किएपछि धान खेती स्यार्न सजिलो भएको हो ।
यस जिल्लामा ईस्मा गाउँपालिकाको चौरासी फाँट, किसानटारी, अर्जेवेशी, रोधीअरौदी, छल्दी, छिनुवा, चाँपटारी, गुर्वा निस्ती ढाणवेंशी, खहरे थापाचौर फाँटमा धान खेती गरिँदै आएको छ । यस्तै मुसिकोट नगरपालिकाको वामीफाँट, दानसिङफाँट, कुर्घा भुवाचिदिफाँट, आपचौरफाँट, सङ्कौल, पौदी अमराई, दिगामचौर, पौदीअरेवा फाँट, चन्द्रकोट गाउँपालिकाको शान्तीपुरफाँट, हरेवा, दम्कासोता, तुराङ फाँटमा कृषकहरु धान स्यार्नमा व्यस्त देखिएका छन् ।
सत्यवती गाउँपालिकाको अश्लेवाफाँट, अरुङ्गा फाँट, साहाघाट, चेमी वहादी, लिम्घा फाँट, कालिगण्डकी गाउँपालिकाको अर्वेनी फाँट, हर्मिचौर, पूर्तिघाट, चापचौर, कोरेङफाँट, फोक्सिङ फाँट, जुखुमचौर, जयखानी, बेल्टारी, फोक्सिङको लमकरा, भुर्तुङ्गकोट, छापचौर, हर्मिचौरको दिङफाँट, रुरुक्षेत्र गाउँपालिकाको घिउँवेशी, बोहाफाँट, रिमुवा, टाहाटिमफाँट, ग्वादी वेशीका चौर फाँट, एक्लेपिपलफाँटमा धान खेती हुँदै आएको छ ।
मदाने गाउँपालिकाको निउरेफाँट, आठचौरफाँट, गडेराफाँट, बडाचौर, गैरीखेत, सुर्यटारी फाँट, छत्रकोट गाउँपालिकाको खज्र्याङफाँट, मनभागफाँट, अर्घाँफाँट, वोहाफाँट, दिगामको जेर्दी फाँटमा कृषकहरु धान स्यार्नमा व्यस्त छन् ।
गुल्मीदरबार गाउँपालिकाको कुमालटारी, अमरअर्वाथोक तलको फाँटमा, रेसुङ्गा नगरपालिकाको अर्खलेको रैदीफाँट, सावुनेटारी फाँट, पारमटारी फाँट, धुर्कोट गाउँपालिकाको गानटारी, धर्नार्जी फाँट, सिमलटारी, कुमलटारी, मानचौर, किट्नीका गौराखेत फाँटमा समेत धान खेती गरिँदै आएको छ ।
मालिका गाउँपालिकामा विधिखोलाको फाँट, मिलटारी, किसानटारी, अर्जेको फाँट लगायतका विभिन्न फाँटहरुमा कृषकहरु धान स्यार्नमा व्यस्त भएका कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सनबहादुर रानाले बताउनुभयो । ‘अहिले धान उत्पादनमा वृद्धि र कमीको डाटा संकलन कार्य गरिरहेका छौँ ।’ रानाले भन्नुभयो ।