फर्किए भारतीय सेनाध्यक्ष नरवणे

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिन नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । भ्रमणको अन्तिम दिन प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर सेनाध्यक्ष नरवणे साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली गएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको बताउँदै कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेको बताइएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार नरवणेले मानार्थ महारथीको सम्मान लिएका थिए । नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने उनी १८ औं भारतीय सेनाध्यक्ष हुन । बिहीबार नै उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।


वुधबार वसन्तपुरस्थित कुमारीको दर्शन गर्न गरेर पशुपतिनाथको मन्दिरमा पुगेका थिए सेनाध्यक्ष नरवणे । आज बिहान सगरमाथाको आधार शिविर क्षेत्रमा माउन्टेन फ्लाइट गरेका उनले सेनाको स्टाफ कलेजमा सम्वोधन गरेका थिए ।