दलहरु असान्दर्भिक बन्ने अवस्था आउँदैछ : डा. कोइराला

काठमाडौं । राजनीतिक पार्टीहरुको भूमिकालाई लिएर जनतामा चरम निरासा बढ्दै गएको छ । सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देश र जनताका सेवामा लाग्ने भन्दा पनि आन्तरिक खिचातानीमै अल्झिएका छन् ।
समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएर जनमत प्राप्त गरेर सत्ताको नेतृत्व गरिरहेका नेकपा आज देश र जनताको सेवामा भन्दा आन्तरिक विवादमै समय व्यतित गरिरहेको छ । सरकारको नेतृत्व गरिरहेका नेकपा अध्यक्ष केपी ओली काम गर्न पार्टीले नै असहयोग गर्यो भनिरहेका छन् । उता उनका विरोधीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरु सरकारले जनअपेक्षा अनुसार काम नगर्दा पार्टी नै अप्ठ्यारोमा परेको आरोप लगाइरहेका छन् ।
उता सरकारको राम्रो कामको समर्थन र नराम्रो कामका विरोध गर्नुपर्ने नेपाली कांगे्रसले पनि जनताको म्यान्डेट अनुसार काम गर्न सकेको देखिदैन । सत्तासँग विभिन्न निकायमा हुने नियुक्तिमा भागवण्डा लिएर रमाइरहेको प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी रुपमा प्रतिपक्षीको भूमिका निर्वाह गरेको देखिदैन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पछिल्ला दिनहरुमा बढ्दै गएका राजनीतिक घटनाक्रमहरुलाई विश्लेषण गर्दै जनतामा पार्टीप्रति निरासा बढेको स्वीकार गरेका छन् । वुटवललगायतका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा भएको प्रदर्शन, ठूला दलहरुभत्रिको गुटबन्दी, जनताले भोग्नु परिरहेका विभिन्न समस्यामा सरकार तथा प्रमुख प्रतिपक्षी दलको उदासिनता एवं विदेशी हस्तक्षेपको नग्नचित्र हेर्दा दलहरु हुँदा र नहुँदा खासै फरक नपर्ने विश्लेषण गर्न थालिएको छ ।
राष्ट्रियता संकटमा पर्दापनि नबोल्ने एवं राष्ट्र तथा जनताको हितमा समर्पित नहुने प्रवृत्तिले ठूला दलहरु आलोचनाको पात्र भइरहेको छन् । भारतीय गुप्तचर संस्थाका प्रमुखले झण्डै १५ दिन पहिले नेपाल भ्रमण गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको विषय निकै विवादास्पद बनेको छ । उनकै पार्टीभित्रबाट समेत यसको विरोध भइरहेको छ । भेटका अवसरमा केके कुरा भए त्यो सार्वजनिक हुनुपर्ने माग चौतर्फी रुपमा भइरहको छ ।
प्रधानमन्त्री आफैमा एउटा संस्था भएकाले सरकार प्रमुखले गरेका कामको सूचना सम्पूर्ण जनताले पाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर प्रम ओली एवं भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलबीच भएको गोप्य वार्ताका बारेमा सत्तारुढ दलका अधिकांस नेताहरु नै वेखबर देखिन्छन् ।
राष्ट्रले थाहा पाउनुपर्ने सूचना समेत लुकाएर सत्तारुढ दलले भुल गरेपनि प्रमुख प्रतिपक्षी दलको भूमिका सन्तोषजनक देखिदैन । जनताको दुःखमा सरिक हुन नसक्ने र सत्ताका लागि मात्रै मरिहत्ते गर्ने प्रवृत्तिले गर्दा राजनीतिक दल र जनताको दुरी बढिरहेको कांग्रेस नेता कोइरालाको टिप्पणी छ  ।
नेता कोइरालाले नेकपा र कांग्रेस सत्ताका लागि मात्र लडिरहेको स्वीकार गर्दै यस्तै अवस्था रहेमा राजनीतिक दलहरु असान्दर्भिक हुँदै जाने उनको ठहर छ । कोइरालाले व्यक्त गरेका धारणा आक्रोश वा पूर्वाग्रहयुक्त देखिदैन । उनले पार्टीका कमीकमजोरीको समीक्षा र आत्मआलोचना गर्नुपर्ने सुझाव दिएर राजनीतिक प्रणालीलाई संकटबाट बचाउनुपर्ने टिप्पणी समेत गरेका छन् ।