‘बल्ल स्थानीय सरकार आएको अनुभूति’

गुल्मी । गुल्मीको मालिका गाउँपालिका घमिरकी चेत कुमारी मुखियाको अहिले दिनचर्या फेरिएको छ ।विगतमा लामो समय देखि कुवा, पधेँरा र खोल्साको दूषित पानी प्रयोग गर्न बाध्य उहाँ अहिले भने घरमै खानेपानी आएपछि औधी खुशी हुनुहुन्छ । मुखियाले आफ्नै घर अगाडि स्थानीय सरकारले धारा निर्माण गरि बिहान बेलुका पानी आउने बनाईदिएपछि खुसी व्यक्त गर्नुभयो ।
सोही स्थानकी झुपी कुमालले पनि घरमै खानेपानीको सुविधा पुगेपछि दैनिकिनै सहज भएको बताउनुभयो । बिहान उज्यालो हुन नपाउँदै झिस्मीसेमा डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी खोजेर जीविका चलाउँदै आउनुभएकी कुमाल अहिले घरमै खानेपानीको सुविधा पुगेपछि दङ्ग हुनुहुन्छ ।
त्यहाँका स्थानीयले पुस्तैनी समस्याको रुपमा खानेपानीको अभाव झेल्दै आएका थिए । बिहान सबेरै ग्रागी बोकर पानीको पालो कुर्न जानुपर्ने झन्झट समेत हटेको छ । वषौँ देखि खानेपानीको समयस्या झेल्दै आएका त्यहाँका स्थानीयवासीले अहिले लिफ्टिङ प्रणालीबाट सहजरुपमा खानेपानीको उपभोग गर्न पाएपछि दिनचर्या नै फेरिएको हो ।


खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको आर्थिक तथा प्राविधिक सहयोगमा लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुगेको छ । घरघरमा पानीको धारा आएपछि गाउँमा साँच्चिकै स्थानीयस्तरमै सरकार आएको अनुभुति स्थानीयले गरेका छन् ।
मालिका गाउँपालिका आठ वटा वडामा करिब १५ सय धारा निर्माण भएकोे मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले जानकारी दिनुभयो । एक घरमा एक धारा निर्माणको लागि प्रति धारा ११ हजार ५ सय लागत रहेको छ । मालिका गाउँपालिका–७ घमिरको कुमालगाउँ, काहाले बाँसखोला, चोरकाटे, सिजाँली, टुलिखोला र साविकको ३ नम्बरको वडा कोट वरिपरीका बस्तिमा गरि करिब ४ सय धारा निर्माण भएका छन् ।
मालिका गाउँपालिकाले गत वर्ष खानेपानीको लागि संघ, प्रदेश र गाउँपालिकाबाट ३ करोड बिनियोजन गरेको थियो । वडा न २ ह्वाङ्ग्दीको ८० लाख मध्ये कोरोनाका कारण १५ लाखको काम भएको थियो । ६५ लाख फ्रिज भएको थियो । आर्थिक बर्ष ०७७÷०७८ मा वडा नम्बर ५ छापहिलेमा १० लाख, ६ अर्जैमा ४० लाख, वडा नम्बर ७ घमिरमा ४० लाख प्रदेश सरकारबाट वडा नम्बर १ मा लिफ्टिङ्गको लागि ४० लाख बजेट बिनियोजन भएको मालिका गाउँपालिकाले जनाएको छ ।
खानेपानीको समस्यामा भौंतारिइरहेका बासिन्दाको घरमा अहिले नियमित धारामा पानी आउन थालेको छ । गाउँमा पानीको स्रोत नहुँदा दैनिक खानेपानीको समस्या झेलेका गाउँलेका लागि लिफ्ट प्रविधिमार्फत गाउँमा भित्र्याएपछि खानेपानीको समस्या टरेको हो । गाउँपालिकाले अर्जै, घमिर, मर्भुङ्ग, अर्खावाङ्ग, छापहिले, ह्वाङदी, दर्लिङ्ग, नेटा लगाएतका वडामा एक घर एक धाराको कार्यक्रमलाई अगाडि सारेको छ ।