राष्ट्रपति भण्डारीको नेकपा मोह !
काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवादलाई लिएर राष्ट्रपतिले प्रत्यक्ष रुपमा चासो देखाउनु गलत भएको टिप्पणी आइरहेका छन् । केही दिनअघि नेकपा भित्र बढेको शक्ति संघर्षले पार्टी नै फुट्ने अवस्थामा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्दै पार्टीलाई फुट्नबाट वचाउन आग्रह गर्नुलाई वुद्धिजीवीले मात्र होइन, नेकपाका कैयन नेताले समेत राष्ट्रपतिले पदीय मर्यादा राख्न नसकेको टिप्पणी गरेका छन् ।
संसारका प्रजातान्त्रिक मुलुकमा राष्ट्रपतिको भूमिका अत्यन्त तटस्थ रहने गरेको छ । भारतमा पनि विभिन्न दलका व्यक्ति राष्ट्रपति पदमा पुगेपनि प्रत्यक्ष र परोक्ष रुपमा उनीहरुले पार्टीका गतिविधिलाई प्रभावित पार्ने वा चासो लिने गरेको पाइदैन ।
युरोप अमेरिकालगायत विभिन्न राष्ट्रमा समेत एउटा न एउटा राजनीतिक शक्तिसँग आवद्ध व्यक्तित्वले राष्ट्रपति पद सम्हाल्दा सकेसम्म आफूलाई तटस्थ राख्ने गरेको राजनीतिक शास्त्रीहरुको तर्क छ । उनीहरु भन्छन्, ‘राष्ट्रपति सवैको अभिभावक भएकाले कसैको पक्ष र विपक्षमा देखिनु हुँदैन ।’
यसअघि पनि राष्ट्रपति भण्डारीबाट नेकपाका दुई अध्यक्षबीच कुरा मिलाउन प्रयास भएको थियो । सोहीक्रमा राष्ट्रपति भण्डारीले केपी ओली र पुष्पकमल दाहाललाई आफ्नो निवासमा आमन्त्रण गरेर छलफल गर्नु कासाथै पार्टी अध्यक्ष अध्यक्षहरुलाई सन्तुलित बनाउन नेकपाका दोस्रो पुस्ताका नेताहरुलाई पनि बोलाएको सत्तारुढ दलकै नेताहरु बताउँछन् ।
पटकपटक यस्ता भेटघाटको क्रम बढ्दै गएपछि कांग्रेस लगायतका अन्य दलमा पनि विवाद भएको तर राष्ट्रपतिले त्यसबारे चासो नराखेको भन्दै राष्ट्रपति भण्डारी नेकपाकी नेता हुन् कि राष्ट्रपति भन्ने प्रश्न उठाएका छन् ।
अन्तर्राष्ट्रिय कूटनीति, परराष्ट्र नीति र मुलुकको राष्ट्रिय मुल नीतिलाई सही बाटोमा हिडाउन र नेपाली सेनाको परमाधिपतिका हैसियतले राष्ट्रिय सुरक्षा बारे चासो राख्ने अधिकार राष्ट्रपतिलाई हुन्छ । तर पार्टीका झिनामसिना कुरामा चियोचर्चा गरिरहँदा त्यसले राष्ट्रपति पदकै गरिमा घट्ने विश्लेषकहरु बताउँछन् ।