कोभिडले मादल व्यवसायी धरापमा
गुल्मीको रेसुङ्गा नगरपालिका–१ साहुटोलका डिल बहादुर नेपालीलाई विगतका वर्षमा यतिबेला मादल बनाउन भ्याई–नभ्याई हुन्थ्यो । उहाँ बाग्लुङ्गको गल्कोट हटियाबाट सदरमुकाम तम्घासमा आई विगत ८ वर्ष देखि मादल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । यतिबेला हिन्दू नेपालीहरुको दोश्रो महान् पर्व तिहार नजिकएको छ । यस समयमा उहाँको पसलमा मादल बनाउने, पुनःमर्मत गर्ने लगायतका कामहरुको भ्याई–नभ्याई हुने गर्दथ्यो ।
तर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण रौनकता भने देखिएको छैन् । तिहारमा बिशेष गरि युवा–युवतीहरु समुहमा जम्मा भई गाउँने देउसी, भैलो बिशेष हुन्छ । यसका लागि स्थानीय क्लब, समुह तथा युवायुवतीहरु जम्मा भई एक हप्ता अगाडिबाटै तयारीमा लाग्ने गर्छन् । देउँसी र भैलोमा प्रयोग हुने सामाग्रीमध्ये प्रमुख बाध्यबाधन सामाग्रीको रुपमा मादललाई लिने गरिन्छ ।
बिशेष गरि नेपालीहरुको चाडपर्व तीज र तिहारमा मादलको बिक्रिवितरण धेरै हुने गर्छ । तर यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण मादल व्यवसायीले मादल बिक्रि नभएको मादल व्यवसायी नेपालीले उल्लेख गर्नुभयो । विगतका वर्षहरुमा चाडपर्वकै समयमा ४ लाख भन्दा धेरैको मादल बिक्रि वितरण गरेको नेपालीको अनुभव छ ।
१३ वर्षको उमेर देखि मादल बनाउँदै आएका नेपालीले जीवनको ४० वर्ष भारतमा बिताउनुभयो । आफुसँग भएको सीपलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले स्वदेशमै फर्किएर नेपाली विगत आठ वर्ष देखि नेपालीले व्यवसायिक रुपमा मादल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँले ख्याली, देउँसी, भैलो खेल्न बजाइने मादल, नेवारी मृदुङ्ग, पञ्चे बाजा, तवला बनाउने गरेको बताउनुभयो ।
उहाँको पसलबाट गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ्ग लगायत देशभरका विभिन्न स्थानबाट समेत मादलको माग हुने गरेको नेपालीले बताउनुभयो । नेपालीले यहाँमात्र नभई मादल, सारङ्गी लगायतका बाध्यबाधनका सामाग्री भारतमा समेत जाने गरेको जानकारी दिनुभयो ।
तर यस वर्ष भने कोभिड–१९ का कारण बेच्नलाई ठिक्क पारिएका मादल समेत बिक्रि वितरण भएका छैनन् । ‘गत वर्ष यो समयमा ७०÷८० वटा मादल बिक्रि गरिन्थ्यो ।’ नेपालीले भन्नुभयो ‘अहिले चार वटा मादल पनि जान सकेको छैन् ।’ यस वर्ष कोरोना भाइरसका कारणले मादलको व्यापार हुन नसकेको उहाँको भनाई छ ।
आधुनिकि रुपमा प्रयोग हुने गीतारको तार समेत फेर्ने गरेको नेपालीले बताउनुभयो । तर पछिल्लो पुस्ताले यो पेशालाई अगाँल्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । ‘विदेशमा कठोर श्रम गर्न पनि तयार हुने । तर आफ्नै देशमा पसिना बनाउन लाज मान्ने गर्छन् ।’ उहाँले भन्नुभयो ।