नेकपा सचिवालय बैठक भोलि, प्रचण्ड समूहद्वारा छलफल
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने भएको छ । केही सयमदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद चर्किदै गएको छ । पार्टी सचिवालयका पाँच जना नेताहरु दाहाल, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग सचिवालय बैठक राख्न लिखित रुपमा दवाव दिएका थिए ।
प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिएपछि पौडलले शुक्रबारका लागि वैठक बोलाएका हुन ।
यसैवीच प्रचण्ड समूहले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति वनाउन आज प्रचण्ड निवास खुमलटारमा छलफल गरेका छन् ।
बैठकमा प्रचण्ड, वरिष्ठ नेताद्वय खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठबीच छलफल भएको थियो ।
नेकपा स्थायी कमिटी बैठकका पछिल्ला निर्णय कार्यान्वयन नभएपछि नेकपामा सचिवालय बैठक बोलाउन नेताहरुले जोड गर्दै आएका थिए । वैठकमा प्रचण्ड समूहले सरकारका पछिल्ला काम, एकतर्फी रुपमा गरिएको मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीको विवाद, रौतहटको विवाद र भारतीय गुप्तचर संस्था रअका प्रमुखको नेपाल भ्रमण र प्रधानमन्त्रीसँग भएको कुराबारे ओलीसँग जवाफ माग्ने तयारी गरेको स्रोतको दावी छ ।