नेपाली काँग्रेसले जिल्लाभरका पार्टी कार्यालय बन्द गर्ने
गुल्मी । नेपाली काँग्रेस गुल्मीले जिल्लाभरका पार्टी कार्यालय बन्द गर्ने भएको छ । नेपाली कांग्रेस मदाने गाउँपालिकाका उप–सभापति डिलहरी सेनको निधनमा भोली शुक्रबार पार्टी कार्यालय बन्द गरिने भएको हो । स्व.सेनको योगदानको उच्च सम्मान गर्दै नेपाली काँग्रेस गुल्मीले पार्टीको जिल्लाभर झण्डा आधा झुकाउने र पार्टी कार्यालय बन्द रहने सभापति भुवन प्रसाद श्रेष्ठले बताउनुभयो ।
नेपाली काँग्रेस मदाने गाउँ कार्य समितिका उप–सभापति तथा नेपाली काँग्रेस मदाने ३ वडा कार्य समिति सिर्सेनीका सभापति सेनको यहि कात्तिक २९ गते ५१ वर्षको उमेरमा असामयिक निधन भएको थियो । बिहिबार एक शोक विज्ञप्ति जारी गर्दै सभापति श्रेष्ठले नेपाली काँग्रेस गुल्मीलाई गम्भीर क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
प्रजातन्त्रको पुर्नस्थापना र सुदृढ लोकतन्त्रका लागि झण्डै तीन दशक भन्दा लामो संघर्ष र बलिदान गर्दै नेपाली काँग्रेसले अगाडी बढाएका हरेक सामाजिक रुपान्तरणको यात्रामा अग्रमोर्चामा प्रस्तुत हुने जुझारु यूवा नेताको निधनबाट सिङ्गो लोकतन्त्र र लोकतान्त्रीक आन्दोलनलाई गम्भीर धक्का पुगेको समेत बताउनुभएको छ । सभापति श्रेष्ठद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा स्वर्गीयको सेनको शोकसन्तप्त परिवारजनमा नेपाली काँग्रेस गुल्मीको तर्फबाट गहिरो समवेदना र दिवंगत सेनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।