दुवै प्रतिवेदन तल्लोतहमा छलफल भएपछि नयाँ पार्टी निर्माणको क्रम सुरु हुन्छ : प्रचण्ड
ओलीको राजनीतिक प्रतिवेदन पार्टी फुटाउने गरी नआउने प्रचण्डको विश्वास
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पार्टीमा फुट ल्याउने गरी नआउने विश्वास व्यक्त गरेका छन् ।
पार्टीका केही स्थायी र केन्द्रीय सदस्यसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले १३ गते बस्ने सचिवालय बैठकमा ओलीले पनि प्रतिवेदन ल्याउने र दुवै प्रतिवेदनलाई तल्लो तहमा छलफलका लागि पठाएपछि त्यसबाट नयाँ पार्टी निर्माणको क्रम सुरु हुने बताएको एक स्थायी समिति सदस्यले बताएका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पटक–पटक पार्टी फुटाउने प्रयास गरेको आरोप लगाउँदै प्रचण्डले आफूहरु पार्टी फुटाउने अभियानमा नरहेको दावी गरेका छन् ।
अहिलेको मतभेदलाई हेर्दा दुई अध्यक्षबीचको जस्तो देखिए पनि खासमा यो नयाँ विचार र संश्लेषणको अन्तरसंघर्ष रहेको प्रचण्डको जिकीर छ ।
नेकपामा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सदस्यका तर्फबाट प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमाथि छलफल र प्रधानमन्त्री ओलीले त्यसको जवाफसहित तयार पारेको प्रतिवेदन १३ गते बस्ने सचिवालय बैठकमा पेस हुँदैछ।
प्रचण्डले सचिवालयमा पेशगरेको राजनीतिक प्रतिवेदनलाई ओली पक्षले आरोपपत्रको रुपमा टिप्पणी गरेकोछ । ओलीले प्रचण्डको आरोपमाथि एकएक उत्तरदिने बताइसकेका छन् ।
प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन सचिवालयमा छलफल नभई एकतफी रुपमा तल्लो तहमा वितरण गरेपछि पार्टीभित्र थप विवाद चर्किएको छ । उनको सो कार्यप्रति उनलाई सहयोग गर्दै आएका वरिष्ठ नेता माधव नेपालले समेत असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले भने आफूले राजनीतिक प्रतिवेदन तल्लो तहमा पठाएर नेता कार्यकर्तालाई पार्टीभित्रको अन्तरसंघर्ष के विषयमा छ भन्ने देखाउन खोजेको स्पष्टिकरण दिएका छन् ।