प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृंगलावीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुईदिने भ्रमणमा आएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भारतका विदेशसचिव श्रृंगलाले प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका हुन ।
आज बिहान काठमाडौं आइपुगेका श्रृंगलाले यसअघि नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गरेका थिए भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि आजै भेट गरेका छन् ।
विदेश सचिव श्रृंगलाले भोली गोरखा र मनाङ जिल्लामा भारतीय सहयोगमा सञ्चालित बिभिन्न कार्यक्रम उद्घाटन गर्ने लगायतका कार्यक्रम रहेको बताइएको छ।
श्रृंगलाले नेपाली पक्षसँग भएको द्विपक्षीय कुराकानी निकै फलदायी भएको बताएका छन् ।
करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो ।


सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व श्रृंगलाले गरेका थिए ।
होटेल याक एन्ड यतिमा भएको द्विपक्षीय बैठक सम्पन्न गरी सचिव श्रृंगला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्न परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका थिए ।
सचिव पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए भने विदेशसचिव श्रृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग) का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायतको सहभागीता रहेको थियो ।