पुख्र्यौली पेसालाई निरन्तरता दिदैँ इस्मा बुल्मका मुखिया

पछिल्लो समय कुमाल समुदायको माटोको भाँडा बनाउने पेसा लोप हुँदै जान थालेको छ । कुमाल समुदायको पुख्र्याैली पेसाको रुपमा यो पेसालाई लिने गरिन्छ । कुमाल समुदायको यो पेसा आधुनिकीकरण तथा व्यवसायीकरण हुन नसक्दा उनीहरु यस पेसाबाट पलायन भइरहेका छन् ।

तर गुल्मीको इस्मा गाउँपालिका–६ बुल्मका पदम मुखियाका लागि भने यो पेसा आम्दानीको स्रोत बनेको छ । उमेरले २३ वर्ष पुग्नुभएका मुखियाले स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले बुल्म प्रगतिशिल सेरामिक्स उद्योग समुहबाट लिजमा लिई पुख्र्याैली पेसालाई निरन्तरता दिनुभएको छ ।
उहाँले माटोबाट बन्ने विभिन्न सामग्री निर्माण गर्नुहुन्छ । यसका लागि आवश्यक पर्ने कालो माटो चौरासी फाँटबाट लिने गरेको मुखियाको भनाई छ । माटोबाट निर्मित हुने पानस, फील्टर, क्यान्डील, हाडिँ, घैटा, मटुला, गमला, डल्लु, कचौरा, कप, पिलेट, गिलास, तथा अन्य सजावटका मुर्तिहरु निर्माण गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले माटोबाट निर्माण गरेका भाँडाहरु सदरमुकाम तम्घास बजार, वामीटक्सार बजार, छिमेकी जिल्ला बाग्लुङ्ग, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङजा, बुटवल लगाएतका बजारमा निर्यात हुने गरेको छ । मुखियाले सेरामिक्समा त्यहाँका स्थानियलाई रोजगारी समेत दिनुभएको छ । जिल्ला र जिल्ला भन्दा बाहिर हुने मेला महोत्सवमा स्टल राखी माटाका भाँडाहरु प्रर्दशनी गर्ने गरेको मुखिया सुनाउनुहुन्छ । उहाँले यहि पेशाबाट मासिक ३०–४० हजार रुपैँया आम्दानी समेत गर्दै आउनुभएको छ । यो पेशाबाट आफु सन्तुष्ट रहेको मुखियाको भनाई रहेको छ ।
२०७२ साल देखि सेरामिक्स उद्योग संचालनमा ल्याइ राम्रो आम्दानी समेत गर्दै आएको मुखियाको भनाई छ । गत बर्षसम्म यसको संरक्षण र आवश्यक तालिम तथा औजारको व्यवस्था घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले गर्दै आएको थियो ।
सेरामिक्स उद्योगको भौतिक संरचनाको लागि प्रदेश सरकारबाट रु १५ लाख बजेट बिनियोजन भयो । त्यस उद्योगका विकासका लागि निति तथा कार्यक्रममा समावेश गर्ने इस्मा गाउँपालिका लागेको छ । लुम्बिनी प्रदेशकै एक मात्र चिनारी बुल्म सेरामिक्स उद्योग भएकाले यसको विकास र प्रवर्धनका लागि टेवा दिने गाउँपालिकाले जनाएको छ ।