अब कोरोना परीक्षणको नतिजा तुरुन्तै थाहा पाइने

काठमाडौं । सरकारले कोरोना परीक्षण नयाँ विधिबाट गर्न सुरु गरेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि एन्टिजेन जाँच सुरु गरिएको बताएका छन् ।
डा. पाण्डेका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, अनामनगर, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको छ ।
डब्लूएचओको सहयोगमा सञ्चालन गरिएको यो निःशुल्क परीक्षण अभियान भएको डा. पाण्डेले बताएका छन् ।
यो विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रमै नतिजा आउने उनले बताएका छन् । ‘सेन्सिटिभिटी’ पीसीआर विधिको भन्दा राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको उनको दाबी छ।
पीसीआर परीक्षण गर्दा नतिजा थाहा पाउन ४८ देखि ७२ घण्टासम्म लाग्छ भने यसबाट करिब आधा घण्टामै थाहा पाउन सकिने डा. पाण्डेको भनाइ छ।
उपत्यकामा प्रभावकारी देखिएमा यो परीक्षण अभियान देशभर सञ्चलान गरिने उनले बताएका छन् ।
काठमाडौं उपत्यकामा प्रत्येक दिन ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने डा. पाण्डेले बताएका छन्।
डा. पाण्डेले थर्मोमिटर भन्दा अलि मोटो लाम्चो र्या‍‍पिड एन्टिजेन किटमा एक थोपा स्वाब राख्दा लाइन आयो भने व्यक्तिमा कारोनो संक्रमित छ, आएन भने छैन भन्ने थाहा हुने डा.पाण्डेले बताएका छन् ।