३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास

काठमाडौं । सरकारले स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा पाँच देखि १५ शैय्यासम्मका आधारभुत अस्पताल निर्माणको थालनी गरेको छ।
चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा ५ देखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप यस आर्थिक वर्षमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
आज २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरेका छन् । आज शिलान्यास हुन नसकेको स्थानीय तहले पनि चालु आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ।
सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न आठ करोड, १० श्ययाको अस्पतालका लागि ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको बताइएको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ। पहिलो चरणमा ३९६ स्थानीय तहलाई ५ देखि १५ श्ययाको अस्पताल बनाउन ६४ अर्ब नौ करोड पठाइएको बताइएको छ। पाँच श्ययाको अस्पतालका लागि रु ७० लाख, १० श्ययाका लागि ८५ लाख र १५ श्ययाका लागि एक करोडका दरले रकम पठाइएको बताइएको छ ।