प्रतिगमनले टाउको उठाउन खोज्दै
सम्पादकीय
मुलुकको राजनीति नयाँ दलदलमा फस्न खोजेको संकेतहरु देखा पर्न थालेको छ । त्यस्ता संकेतहरु खुल्लारुपमा बाहिर आउन थालेका छन । खासगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक झगडाले यो अवस्था सिर्जना भएको महसुुस सर्वत्र गर्न थालिएको छ । सरकारको नेतृत्व गरेको दल नेकपा भित्रको आन्तरिक झगडा सल्टिनुको सटट दिनप्रतिदिन बल्झिएपछि त्यसको प्रत्यक्ष असर मुलुकको समग्र राजनीति र राजनीतिक प्रणालीमा नै पर्नसक्ने भय बढेर गएको छ । यसको संकेत स्वरुप अहिले मुलुकभर गणतन्त्र बिरुद्ध र बर्तमान सरकारको काम कारवाहीलाई लिएर दिनहुँ जस्तो नारा जुलुससहितको समुह सडकमा उत्रनुले यस्को पुष्टि हुन्छ । कोरोना महामारीको कहरको समेत कुनै प्रवाह नगरी हजारौं मानिसहरु सरकार बिरुद्ध बिभिन्न जिल्लाहरुमा नाराबाजीका साथ सडकमा उत्रिरहेका छन । यसैगरी बिभिन्न असन्तुष्ट राजनीतिक दल र केही गैर राजनीतिक समुहहरु पनि दैनिकजसो सडकमा उत्रिएर बर्तमान सरकार र अहिलेको राजनीतिक प्रणाली बिरुद्ध खरो रुपमा उत्रिरहेका छन । बर्तमान अवस्थामा यो हुनु भनेको मुलुकको पक्कै हितमा हुन सक्दैन र यसलाई शुभ संकेत मान्न सकिदैन ।
झण्डै दुई तिहाई मत पाएर मुलुक संचालनको नेतृत्व गर्न पाएको बर्तमान सरकार गठन पश्चात मुलुकमा स्थापना भएको गणतन्त्रको जग बलियो हुँदै जाने जन अपेक्षा थियो । अझ भन्नु पर्दा थप स्थायी र बलियो हुँदै जानुपर्ने थियो । जनताको चाहाना र अपेक्षा पनि यही नै थियो । तर स्थायी र बलियो मानिएको बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकेको कुरा जगजाहेर नै छ । त्यस माथि पनि माउ पार्टी नेकपाको आन्तरिक घर झगडा र मुख्य नेताहरु सत्तालिप्सामा अल्झदा त्यसको प्रत्यक्ष असर व्यवस्था माथि पर्न गएको छ । मुलकमा हिजोको दिनमा जुन रुपमा भ्रष्टाचार, अत्याचार र कुशासन थियो आज पनि त्यही स्थिति छ । हिजोको दिनको बिकृति बिसंगति घटनुको सटट अझै बढदै गएको महसुस सवत्र हुन गएको छ । यही कारणले गर्दा बर्तमान सरकारप्रति मात्र होइन व्यवस्था बिरुद्ध नै नारा लाग्न थालेको देखिन्छ । यसो हुनुमा सत्तारुढ दल भित्रको आन्तरिक झगडा त प्रमुख कारण त हो नै साथै संसदमा रहेको प्रमुख प्रतिपक्ष दलको कमजोर भुमिका पनि अर्को प्रमुख कारण मान्न सकिन्छ ।
दिनप्रति दिन बर्तमान सरकारको अलोकप्रियताको ग्राफ बढदै गएपछि प्रतिगमनले टाउको उठाउन थालेको र सरकारले आफना कमी कमजोरीलाई सच्चाएर अगाडि बढनुको सटट पार्टीको आन्तरिक घर झगडामा केन्द्रित हुँदा मुलुकलाई च्याँखेको दाउमा राख्न खोजेपछि यो परिस्थितिको बिकास हुन पुगेको हो । अहिले पनि सत्तारुढ दल सच्चिने र बर्तमान सरकारलाई अझ स्पात बनाएर अगाडि बढाउँनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसले दवाव दिने हो भने सरकार केही लचिलो हुन बाध्य हुनेछ । तर त्यसका लागि प्रमुख प्रतिपक्ष दलको नाताले काँग्रेसले दृढ संकल्पसहित योजना ल्याएको खण्डमा सडकमा उत्रिएको जनता केही हदसम्म लचिलो हुन सक्छन । त्यसको लागि जनताको मन जित्ने गरी नयाँ कार्य योजना ल्याउनु सरकार र प्रतिपक्षी राजनीतिक दलको भुमिका अहिलेको अंहम आवश्यकता हो । बर्तमान सरकार र नेकपा यही बाटोमा अगाडि बढन तयार भएको खण्डमा बर्तमान समस्याको हल स्वत भएर सडकमा उत्रिएका आम नागरिक चुप लाग्नेछन । अहिले व्यवस्था बिरुद्ध उत्रिहाल्ने समय पनि होइन । भाँडो फोहोर भएको कारण पानी फोहोर देखिएको मात्र हो । पानी राख्ने भाँडो राम्ररी सफा गरेपछि पानी स्वत सफा हुनेछ । सवैलाई चेतना भया ।