सुध्रेकै हो त नेपाल–भारत सम्वन्ध ?

काठमाडौं । नेपालमा वैदेशिक चासो बढिरहेका बेला परराष्ट्र मन्त्रालयको भूमिका प्रभावकारी नभएको गुनासो बढिरहेका बेला नेपालमा दुई छिमेकी मुलुकका उच्चस्तरीय भ्रमणको प्रतिस्पर्धा नै चलेको छ । भारतका रअ प्रमुख सामन्तकुमार गोयल फर्के लगत्तै भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए भने त्यसको केहीदिन नवित्दै भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृंगला नेपाल आएर फर्किए ।
त्यस्तै यही बीचमा चीनका काउन्सिलर तथा रक्षामन्त्री वाइ फेङहे नेपालको एक दिन भ्रमण गरेर फर्किएका छन् । चीनले नेपाललाई उच्च प्राथमिकता दिएको बताएर दक्षिण एसियामा बलियो मित्र बनाउन खोजेको देखिन्छ । एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको चासो बढ्दै गएको अवस्थामा भारत वाहेकका सवै राष्ट्रसँग अत्यन्त निकट सम्वन्ध राख्दै भारतलाई समेत नचिढ्याउने नीति लिएको चीनले वंगलादेश, श्रीलंका, माल्दिभ्स, नेपाल, भुटान र पाकिस्तान जस्ता राष्ट्रसँग सम्वन्धको नयाँ आयाम सुरु गर्न खोजेको संकेत देखिएको कूटनीतिज्ञहरु बताउँछन् ।
नेपालसँगको सम्वन्धलाई चीनले उच्च प्राथमिकतामा राख्नुका पछाडि उसको भूराजनीतिक वाध्यता समेत रहेको छ । हिमालयबाट दक्षिणमा पर्ने सम्पूर्ण क्षेत्रमा अमेरिका र भारतको प्रभाव बढ्दै गएको अवस्थामा आफ्नो सुरक्षा र सार्वभौमसत्ता खतरामा पर्ने चीनको बुझाइ छ । त्यसैले वेल्ट एण्ड रोड लगायतका परियोजनामार्फत अघि बढ्ने क्रममा विभिन्न राष्ट्रसँग सैन्य कूटनीति मार्फत समेत सम्वन्ध विस्तार गरिरहेको देखिन्छ ।
यसबाट नेपालले आर्थिक मात्र होइन, राजनीतिक, कूटनीतिक र सैनिक सहायताका नयाँ अध्यायहरु मार्फत फाइदा लिन सक्ने भएपनि कूटनीतिक सन्तुलन विग्रिएको खण्डमा चीन विरोधी शक्तिहरु चिढिने र त्यसले कूटनीतिक क्षति पनि हुन सक्ने पुराना कूटनीतिज्ञहरुको तर्क छ ।
यसैवीच नेपाल–भारत परराष्ट्रसचिवस्तरको औपचारिक वार्ता भएको तीन साता भित्रै परराष्ट्रमन्त्री स्तरको संयुक्त आयोगको वैठक नयाँ दिल्लीमा मंसिर ३० र पुस १ गते बस्ने भएको छ । त्यसमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भाग लिने भएका छन् । उनले भारतीय समकक्षी डा. सुव्रमन्यम जयजंशकरसँग दुई पक्षीय हितका बारेमा कुराकानी गर्ने र नेपाल भारतबीच देखिएका कूटनीतिक समस्याबारे नेपालको धारणा राख्ने विश्वास गरिएको छ ।
आउँदो वैठकमा इपीजीको प्रतिवेदन, नेपाल भारत सीमा विवाद, ऊर्जा, जनस्तरको सम्वन्धलगायतका विषया छलफल हुने बताइएको छ । तर गम्भीर गृहकार्य नगर्दा कतिपय प्रश्नमा नेपालले स्पष्ट धारणा राख्न नसकेको भन्दै पुरानो कूटनीतिज्ञहरुले आलोचना गर्दै आएका छन् ।

यसैवीच भारतका विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकरले नेपालसँग सम्वन्ध सुधार भएको भन्दै दक्षिण भारतबाट प्रकाशित हुने द हिन्दु पत्रिकामार्फत आफ्नो धारणा स्पष्ट गरेका छन् । उनले भारतका सेनाध्यक्ष मनोजमुकुन्द नरवणे, गुप्तचर प्रमुख सामन्तकुमार गोयल र भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमण उपलव्धिमुलक भएको बताएका छन् ।
उनले चीनका रक्षामन्त्री जनरल वेइ फेङ्गेले मंसिर १४गते गरेको नेपाल भ्रमणको पनि चर्चा गर्दै नेपालसँग सम्वन्ध थप सुदृढ बनाउन भारत उत्साहित भएको संकेत गरेका छन् ।
नेपाल र चीनबीच विकसित कूटनीतिलाई भारतले गम्भीर चासोका साथ हेरिरहेको देखिन्छ । त्यस्तै नेपाल र भारतबीचको सम्वन्धलाई चीनले पनि त्यस्तै अभिरुचिका साथ हेर्ने गरेको पाइन्छ । भारततर्फ संकेत गर्दै चीनले नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई कुनै पनि असर नगर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले भनिन्, ‘चीन र नेपालको मित्रवत सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक छ । हाम्रो सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई असर पर्ने छैन ।’
उनले नेपाल र चीन हिमाल र नदीले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएको बताउँदै नेपालसँग सहकार्य गर्न बीआरआईमा जोड दिइएको तर्क गरेकी छिन् । पछिल्लो समयमा भारतले नेपाल–चीन सम्बन्धको बारेमा अलिक बढी चासो राख्दै आएको पाइन्छ । भारतीय सञ्चारमाध्यमहरुले नेपालको राजनीतिक शक्ति र सेनालाई समेत चीनले प्रभावमा पार्न खोजेको आरोप लगाउँदै आएका छन् ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल र भारतबीच मात्र होइन, सबै छिमेकीसँग सन्तुलित सम्वन्ध कायम राख्ने बताएका छन् ।
त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि नेपाल–भारत सम्वन्ध सुमधुर हुँदै गएको दावी गरेका छन् । प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको मन्त्री ज्ञवालीले सो भेट पछि थुप्रै रिजल्ट आइसकेको बताएका छन् ।
औपचारिक संवाद हुन नसकिरहेको बेला कूटनीतिमा व्यापारिक, धार्मिक मानिसहरु प्रयोग हुने बताए । नाकाबन्दीको बेला तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्री र हिमालय थापालाई पठाइएको स्मरण मन्त्री ज्ञवालीले गराएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल लगायतले प्रधानमन्त्री र रअ प्रमुखबीचको भेटवार्ताबारे प्रश्न उठाएका थिए ।
जवाफमा मन्त्री ज्ञवालीले गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट अपारदर्शी नभएको बताए । प्रधानमन्त्रीको प्रेस सल्लाहकारले भेट भयो र योयो विषयमा वार्ता भयो भनेको भन्दै भने, ‘योभन्दा बढी पारदर्शीता हामीले कति खोज्छौं, सम्भव हुन्छ ? त्यो बेग्लै कुरा भयो ।’
परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै औपचारिक संवादको ढोका खुलेको बताएका छन् । ‘नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक संवादको ढोका खुल्यो । दोस्रो, सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश संवादबाटै समधान खोज्न तयार भएको छ,’ उनले भने ।