संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने प्रधानमन्त्रीको चेतावनी
सरकारकै कारण सडकमा असन्तुष्टि पोखिएको हो : कांग्रेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने बताएका छन् ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान पनि गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले अराजकता अन्त्य गर्न सबै दललाई सकारात्मक ढङ्गले अघि बढ्न आव्हान पनि गरेका छन् ।
वैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका थिए ।
वैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण सडकमा असन्तुष्टिका स्वरहरु सुनिएको र राजवादीहरु हौसिएको बताएको छ ।
कांग्रेसले सरकार संविधानको मर्मअनुसार चल्न नसकेका कारण सरकारप्रति असन्तुष्टि बढेको र राजवादीहरु हौसियर सडकमा आएको बताएको छ ।
कांग्रेस नेता प्रकाशशरण महतले भने ‘सरकारको काम कारबाहीप्रति जनता असन्तुष्ट छन्, त्यसैको परिणामस्वरुप अहिलेको सडक आन्दोलन भएको हो।’
बैठकमा राप्रपाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रलाई छलफलको विषय बनाउन प्रस्ताव गरेको थियो ।
बैठकमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधबकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाष नेम्वाङको सहभागिता थियो ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डाक्टर प्रकाशशरण महतको सहभागीता थियो ।
त्यस्तै बैठकमा संघीय समाजबादी पार्टीका तर्फबाट नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादबको सहभागिता रहेको बताइएको छ ।