सगरमाथाको उचाइ ८६ सेन्टीमिटर बढ्यो
काठमाडौं । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टीमिटर बढेर ८८४८.८६ मिटर भएको छ । नेपाल र चीनले भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन ।
घोषणा कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्«पति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिएको हो ।
कर्मचारीको टोलीले शिखरमा पुगेर तथा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो ।
चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो ।
नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने ८ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो ।
त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको बताइएको छ ।
वि।सं। २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्वेमा काठमाडौंका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । यसलाई आधार मानेर भारतले सगरमाथाको उचाइ नाप्न खोजेको थियो तर नेपालले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूको सुझावसमेत लिएर आफैँले सगरमाथाको उचाइ मापन गर्ने घोषणासहित काम अगाडि बढाएको थियो ।