महेन्द्र मावि तम्घास गुल्मीद्वारा पूर्व बिद्यार्थी खड्कालाई आर्थिक सहयोग हस्तान्तरण
लुम्बिनी प्रदेशकै उत्कृष्ट सामुदायिक बिद्यालयको रुपमा रहेको महेन्द्र नमुना माध्यमिक बिद्यालय रेसुङ्गा नगरपालिका–१ चिदिचौर तम्घास गुल्मीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शान्ति नेपाली समाज बेलायतबाट प्राप्त भएको आर्थिक रकम यस बिद्यालयमा २०७६ सालमा कक्षा १० मा अध्ययन गरेका पूर्व बिद्यार्थी जीवन खड्कालाई बिद्यालयले हस्तान्तरण गरेको हो ।
शान्ति नेपाली समाज बेलायतले २०७४ सालमा अभिभावकको सहयोग नपाएका विपन्न विद्यार्थीलाई सहयोग गर्ने जनाएको थियो । बिद्यालयले परिवारमा आर्थिक अवस्था कमजोर भएका खड्काको पठनपाठनमा सहज पुर्याउन शान्ति नेपाली समाज बेलायतलाई सहयोगका लागि जानकारी गराएको थियो । खड्काको पठनपाठन सहजताका लागि त्यस संस्थाले बिद्यालयको खातामा आर्थिक सहयोग पठाएको थियो ।
बुधबार एक औपचारिक कार्यक्रमकाबीच रेसुङ्गा नगरपालिका वडा नम्बर एकका वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे तथा बिद्यालयका प्रधानाध्यापक युवराज ज्ञवालीले पूर्व बिद्यार्थी जीवन खड्का तथा उहाँका अभिभावक घन बहादुर खड्कालाई रु १० हजार रुपैँया सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पाण्डेले आर्थिक सहयोग प्रदान गर्ने शान्ति नेपाली समाज समाज बेलायतलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि सहयोगको आवश्यकता रहने बताउनुभयो । वडाअध्यक्ष पाण्डेले विदेशमा रहने प्रवासीहरुले आफ्नो मेहनत गरेर स्वदेशका विभिन्न क्षेत्रमा गरेको सहयोगको कार्य महत्वपूर्ण रहेको बताउनुभयो ।
कोही पनि बिद्यार्थी आर्थिक रुपमा कमजोर भएर बिद्यालय छोड्नुपर्ने अवस्थाको अन्त्यका लागि सबैको सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो । आफुले वडा कार्यालयबाट समेत विपन्न परिवारका बिद्यार्थीहरुको सहयोगका लागि केही भएपनि आर्थिक कोष छुट्टाएर सहयोग पुर्याउँदै आएको उल्लेख गर्नुभयो ।
बिद्यालयका प्रधानाध्यापक युवाराज ज्ञवालीले यस बिद्यालयमा कोही पनि विद्यार्थीले आर्थिक रुपमा कमजोर भई पठनपाठन गर्नबाट बञ्चित हुन नपर्ने बताउनुभयो । विपन्न परिवारका बिद्यार्थीहरुको पठनपाठन सहजताका लागि बिद्यालयमा विभिन्न अक्षयकोष समेत स्थापना भएकाले आगामी दिनमा पनि यस्तै सहयोगीदाताहरुको आवश्यकता रहने बताउनुभयो ।
प्रधानाध्यापक ज्ञवालीले अध्ययनमा अब्बल रहेका कतिपय विपन्न परिवारका बिद्यार्थीहरुलाई बिद्यालयका शिक्षकहरु आफैँले आर्थिक संकलन गरि अध्ययन गराएको समेत बताउनुभयो । सहयोग उपलब्ध गराने शान्ति नेपाली समाज बेलायतलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व बिद्यार्थी खड्काका अभिभावक घन बहादुर खड्का, बिद्यालयका कर्मचारी ज्ञान बहादुर बस्नेत लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका लेखापाल शालिक पन्थीले गर्नुभएको थियो ।