लेकाली स्वावलम्बन साकोसको अध्यक्षमा अर्याल निर्विरोध निर्वाचित
लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) तम्घास गुल्मीको अध्यक्षमा भुवन प्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार संस्थाको कार्यालय रेसुङ्गा नगरपालिका–१ क्याम्पसरोडमा भएको नवौँ अधिवेशनबाट अर्याल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिनुभयो । २८ औं वार्षिक साधारणसभा एवम् नवौं अधिवेशनले ११ सदस्यीय संचालक समिति निर्वाचित गरेको छ ।
यस्तै उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा बलबहादुर कुँवर, कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार संञ्चालक समितिको सदस्यहरुमा गोपिराज पन्थी, जिवलाल पन्थी, तोमप्रसाद पन्थी, पशुपति पाण्डे, विष्णु प्रसाद शर्मा तथा महिला सञ्चालक सदस्यहरुमा देवकला कुँवर, बसुन्धारा घिमिरे निर्वाचित हुनुभएको छ ।
अधिवेशनले तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ । जसको संयोजक शिवबहादुर कुँवर र सदस्यहरुमा डोलबहादुर कुँवर एवंम राधा पन्थी निर्वाचित हुनुभएको छ । त्यस अवसरमा नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको निर्वाचन अधिकृत कुँवरले सपथ ग्रहण गराउनुभएको थियो ।
वार्षिक साधारण सभाको अवसरमा पूर्व सञ्चालक समितिका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । त्यस अवसरमा संचालक समितिका निवर्तमान अध्यक्ष गोपाल पन्थीलाई सचिव, उपाध्यक्ष र अध्यक्ष सम्मको गरिमामय पदमा रही संस्थाको श्रीवृद्धिमा पुर्याउनुभएको महत्वपूर्ण योगदानको उच्च समान गर्दै सम्मान गरिएको थियो । यस्तै पूर्व संचालक समितिका सदस्यहरु पार्वती केसी, चेतमान कुँवर र चतुर्भुज पन्थीलाई पनि दोसल्ला, मायाको चिनो सहित सम्मानपत्रले सम्मान गरिएको हो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवम कार्यक्रमका प्रमुख अतिथी भक्तिराम मरासिनीले सहकारीले व्यक्तिसँग रहेको सानो पूजीलाई एकिकृत गरेको बताउनुभयो । उहाँले सहकारी निति, विधि र प्रविधिबाट सञ्चालन हुने बताउँदै नवनिर्वाचित सहकारीका पदाधिकारीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।
साथै जिल्ला बचत संघका अध्यक्ष श्यामकुमार पाण्डे, जिल्ला सहकारी संघका उपाध्यक्ष यमबहादुर थापा क्षेत्री, निवर्तमान लेखा सुपरिवेक्षण समिति संयोजक पदमप्रसाद पाण्डेले शुभकामना मन्तव्य र निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोपालप्रसाद पन्थीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
भुवनप्रसाद अर्यालको अध्यक्षता रहेको कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलको स्वागत मन्तव्य तथा सचीव बलबहादुर कुँवरको सञ्चालन रहेको थियो । संस्थाका व्यवस्थापक कल्पना बस्नेतका अनुसार २ हजार ८ सय ९ जना शेयर सदस्य तथा १ हजार २८ जना नाबालक शेयर सदस्य रहनुभएको छ । यस संस्थाले ३४ करोड २९ लाख लगानी गरेको छ । भने ४० करोड ९८ लाख बचत गरेको समेत बस्नेतलले जानकारी दिनुभएको छ ।