गृहमन्त्री थापा र उद्योगमन्त्री भट्ट वाहेकका दाहाल–नेपाल समूहका मन्त्रीले दिए राजीनामा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट सात जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।
संसद विघटनको विरोध गर्दै उनीहरुले राजीनामा दिएका हुन ।
दाहाल–नेपाल समूहबाट मन्त्री बनेकाहरु शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुसाल, श्रममन्त्री रामेश्वर राय यादव, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री विना मगरले सामूहिक राजीनामा दिए पनि उनीहरुकै समूहबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।
आइतबार अपरान्ह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै दाहाल–नेपाल समूहका सात मन्त्रीहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजीनामा पत्र पढेर सुनाएका थिए ।