जनता समाजवादी पार्टी गुल्मीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि पुलिस सुरक्षा प्रशासनलाई चुनौती दिँदै जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहन पछि बोल्दै जनता समाजवादी पार्टी गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको कदम विरुद्ध केन्द्रिय कार्यक्रम अनुसार यस जिल्लामा पनि पुत्ला दहन गरिएको बताउनुभयो ।
पाण्डेले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको समेत उल्लेख गर्दै संसद पुर्नस्थापनाको माग समेत गर्नुभएको थियो । साथै प्रधानमन्त्रीको यस कदमप्रति जसपा निरन्तर आन्दोलनमा रहेको समेत उहाँले जानकारी दिनुभयो ।
पाण्डेले नेकपालाई पाँच वर्ष सरकार चलाउन जनताले मतदान गरि जिम्मा दिए पनि नेकपाले जनतालाई धोका दिएको बताउनुभयो । आफ्नो पार्टीको आन्तरिक द्धन्द्धका कारण संविधान माथि प्रहार गरेको समेत बताउनुभयो । ओली सरकारको राष्ट्रघाती अलोकतान्त्रिक कदम विरुद्ध आगामी दिनमा कडा सङर्षका कार्यक्रम गर्ने पाण्डेले बताउनुभयो । जिल्लामा भोली मसाल जुलुस समेत प्रर्दशन गर्ने पाण्डेले बताउनुभयो ।
जनता समाजवादी पार्टी (जसपा)का गुल्मीका सचिव जनक पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दा प्रतिनिधि सभा भङ्ग गरेको भन्दै शान्तिपूर्ण सशक्त आन्दोलनमार्फत यो कदमलाई परास्त गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।