प्रधानमन्त्री दलाल र पुँजीपतिहरुको मतियार भएको गुल्मी काँग्रेस आरोप
ओलिको उदय प्रजातन्त्रलाई मास्नको लागि भएको सभापति श्रेष्ठको दाबी
नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली दलाल र पुँजीपतिहरुको मतियार भएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर दुईको आयोजनामा मुसिकोट नगरपालिकाको वामीटक्सारमा प्रधानमन्त्री ओलीद्वारा असंवैधानिक संसद विघटन विरुद्धमा भएको बिरोध प्रर्दशन सभालाई सम्बोधन गर्दै सभापति श्रेष्ठले ओलीको उदय प्रजातन्त्रलाई मास्न र संघियतालाई धारापमा पार्नका लागि भएको समेत दाबी गर्नुभयो ।
उहाँले नेकपाको पार्टी कार्यालय धुमबाराहीमा हुने हरेक बैठक केबल सत्ता र शक्ति प्राप्तिका लागि मात्र केन्द्रित हुने गरेको आरोप लगाउँदै सर्वसाधरण जनता कोभिड–१९ सँग जुधिँरहेका वेला नेकपा सरकार भने देशलाई राजनैतिक अस्थिर्तातर्फ धकेल्न केन्द्रित रहेको बताउनुभयो ।
उखुको मुल्य नपाएर सडकमा लडीरहेका कृषकलाई सरकारले सम्बोधन गर्न नसकेको उल्लेख गर्दै सभापति श्रेष्ठले कोभिड–१९ले सर्वसाधारण भोकमरीसँग लडिरहेका बेला सरकार अभिभावक बन्न नसकेको समेत बताउनुभयो । सभापति श्रेष्ठले सरकारको असंवैधानिक संसद विघटनप्रति घोर भ्रत्सर्ना गर्दै नेकपाभित्रको विवादका कारण देशलाई गम्भिर संकटमा नधकेल्न सचेत गराउनुभयो ।
वर्तमान सरकार जनताको भावना अनुरुप चल्न नसकेको बताउँदै सभापति श्रेष्ठले नेकपाको एकता अहिले सीसाको भाडो झै भताभुङ्ग भएको बताउनुभयो । ‘‘सन्तानको रक्षा जसरी एउटी आमाको सक्षमताको उदाहरण हो । त्यसरी नै नेपाली कांग्रेसले अभिभावक बनेर देश र जनताको रक्षा गर्नुपर्ने बेला आएको समेत उहाँको भनाई छ । संविधान र प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेस सधैँ अग्रपंक्तिमा उभिएर लड्ने बताउनुभयो । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २ को आयोजनामा मुसिकोट नगरपालिका वामीटक्सारमा विरोध प्रदर्शन पश्चात कोणसभामा परिणत भएको थियो ।