प्रतिनिधिसभा विघटन संविधानको व्यवस्था अनुसार नै : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव ल्याउने तयारी भएपछि आफूले प्रतिनिधिसभा विघटन गर्नु परेको बताउनु भएको छ ।
नेकपा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना र नयाँ सरकार बन्ने विकल्प नभएको र नयाँ निर्वाचनले मात्र त्यो सम्भव हुने बताउनु भएको छ । संविधानको धारा ७६ अनुसार आफूले प्रतिनिधिसभा विघटन गरेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो कदम असंवैधानिक नभएको स्पष्ट पार्नु भएको छ ।
मुलुकको लोकतन्त्रलाई खतरामा पर्न नदिइने प्रतिवद्धता जनाउनु हुँदै उहाँले सामाजिक न्यायसहितको लोकतन्त्र, सुशासन र आर्थिक विकासकै बाटोमा लोकतन्त्र जानुपर्ने बताउनु भएको छ ।
विकासको, अग्रगमनको डुङ्गा अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूह पछाडि छुटेको बताउनु भयो । उहाँले केही समय डुङ्गा समाटेर आफूलाई अल्झाउन खोजे पनि आफू अघि बढेको बताउनु भयो ।
मंगलबार राजधानीमा आयोजित सभामा बोल्दै पुष्पकल दाहालले ‘ओलीको आयु वैशाखसम्म मात्र’ भनेका थिए । सो भनाइप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “म विमारी पर्नासाथ अब मरिहाल्छ भने म मरिनँ, अहिले वैशाखसम्म मात्र आयु हो भनिरहेका छन्, यो भविष्यबाणी पनि मिल्दैन, हेर्नुहोला ।” प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो “एकातिर चुनाव हुँदै हुँदैन भन्नुहुन्छ, अर्कोतिर वैशाखपछि ओलीको पत्तासाफ हुन्छ भन्नुहुन्छ, कुरा कहाँ मिल्यो ?”
कार्यक्रममा उद्योग मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टले राजनीतिक वैचारिक विचलन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले क्रमभङ्गताको नाममा मुलुकमा महाविपत्ति तर्फ धकेलेको बताउँदै मन्त्री भट्टले सपनामा पनि प्रचण्डले प्रधानमन्त्री मात्र देख्ने गरेको बताउनु भयो । पार्टी एकता भएर कार्यकारी अध्यक्षको जिम्मेवारीमा आउँदा पनि अध्यक्ष प्रचण्डले जनयुद्धका घाइते र पीडितको पक्षमा कहिल्यै नबोलेको र खाली आफ्नो कुर्सी र सम्मानको मात्र ख्याल गरेको बताउनु भयो ।
प्रचण्ड–माधव पक्ष पद र स्वार्थका लागि मात्र केन्द्रित भएकाले त्यो पक्षमा गएर देश र जनताको भलाई नहुने पनि मन्त्री भट्टले बताउनु भयो ।
जनादेशबेगर पद पाउने वानी परेका कारण अध्यक्ष प्रचण्डले चुनावमा जाने आँट नरहेको मन्त्री भट्टको टिप्पणी छ । दुई ठाउँबाट हारेका नेता माधवकुमार नेपाललाई त्यतिबेला प्रधानमन्त्री बनाएर प्रचण्डले जनमतको अपमान गरिसकेकोले अहिले जनमतको सम्मान गर्ने कुरा गर्नु हास्यास्पद भएको उहाँले बताउनु भएको छ ।
कार्यक्रममा नेकपा सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले सुदूरपश्चिमका नौ जिल्लाको अधिकांश अध्यक्ष ओलीको पक्षमा रहेको बताउनु भयो । उहाँले आफूहरु मुलुकको एकता, राष्ट्रियता, सामाजिक न्याय र विधिको पक्षमा उभिएको पनि बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु निरुदेवी पाल, गौरीशंकर चौधरी, राजेन्द्रसिंह ठगुन्ना, कृष्णप्रसाद जैशी, प्रेम आले, अफिलाल ओखेडालगायतले बोल्नु भएको थियो ।