नेपालमा अमेरिका र चीनको शक्ति संघर्षले भारत किनारा लाग्ने शरणको चिन्ता
काठमाडौं । भारतले तत्कालको फाइदा हेरेर नेपालका दक्षिणपन्थीहरुसँग सहकार्य नगर्ने र कम्यनिष्टहरुलाई पनि टाढा नराख्ने नीति लिन सक्ने देखिएको छ । नेपाल मामिलाका ज्ञाता नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरणले भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै ‘ओलीलाई सहयोग पु¥याउनु वा स्पष्ट रुपमा राइट विंग गठबन्धनलाई सहयोग गरेर नेपाल कम्युनिष्ट पार्टीलाई विस्थापित गर्नु एकदमै क्षणिक दृष्टि हुनेछ’ भनेका छन् ।
सो लेखमा पछिल्लो समयमा नेपालमा चीन र अमेरिकाको बढ्दो चासो रहेको विश्लेषण गरिएको छ । लेखमा ‘काठमाडौंमा अमेरिका र चीनको वीचमा भइरहेको शक्ति संघर्षमा भारत किनारा लाग्ने अवस्था आउन सक्छ’ भनिएको छ ।
पूर्वविदेश सचिव समेत रहेका शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन चीनबाट पहल भइरहेको दावी समेत गरेका छन् ।
उनले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन सक्रिय रहेको आरोप लगाएका छन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको उल्लेख गर्दै शरणले पछिल्लो घटनाक्रमले चीनको चासोलाई प्रतिविम्बित गरेको बताएका छन् ।
तर चीनले केही दिनअघि भएको चिनियाँ नेताहरुको नेपाल भ्रमण विआरआईको कार्यान्वयन, अन्तरपार्टी अन्तक्र्रिया गर्ने बारे विचार आदानप्रदानलगायतका परस्पर चासोका विषयमा छलफल भएको स्पष्ट गरेको छ । चिनियाँ विदेश मनलयका प्रवक्ताले बिहीबार नियमित पत्रकार सम्मेलनमा सो बताएका हुन् ।
उता भारतीय नेता शरणको दावी छ ‘चीनले प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको छ ।’ सम्भवतः चीनको सो प्रतिक्रियाप्रति रुष्ट भएर केपी ओलीले संसद भंग भएको र नेकपाको विवाद नेपालको आन्तरिक मामिला भन्दै त्यसलाई आफूहरुले नै समाधान गर्ने जवाफ दिएको हुन सक्छ ।
नेपालमा अहिलेको संकट निम्तिनुमा अमेरिकाको हात रहेको सुनिएको छ भन्दै श्याम शरणले त्यसो हो भने नेपालमा अमेरिका र चीनबीचको शक्तिको खेलमा भारत किनारामा पर्ने खतरा बढेर गएको विश्लेषण गरेका छन् । तिब्बतका विषयमा चीनको कमजोरीमा खेल्न नेपाललाई उपयोग गर्न सकिने विश्वास अमेरिकाले लिएको हुन सक्छ भन्ने श्याम शरणको तर्क छ ।
चीन त्यसलाई रोक्नका लागि जे पनि गर्न बाध्य हुने छ भन्दै उनले अमेरिकी एजेन्डामा रही भारतले काम गरेको भन्ने चीनलाई लागेमा भारतप्रति उसको शत्रुता थप बढ्न सक्ने शरणको विश्लेषण छ ।
नेपालमा अमेरिकी स्वार्थ हावी भएमा भारतलाई क्षति पुग्ने तर्क गर्दै उनले अमेरिकाले नेपालमा खेलिने खेलको नेतृत्व गरेमा भारत किनारा लाग्ने बताएका छन् । नेपालमा चीनले भारतमाथि तेस्र्याएको चुनौतीलाई सामना गर्नका लागि भारतले नेपालसँगको विशिष्ट सम्बन्धका रूपमा रहेको पूँजी उपयोग गर्नुपर्छ भन्दै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा भारत नै इच्छाइएको साझेदार बन्न सकेमा आफ्नो बलियो उपस्थिति हुन सक्छ भनेका छन् ।
यस्तै नेपालका राजनीतिक दलहरुको बारेमा अध्ययन र अनुसन्धान गरिरहेका चीनको युनान विश्वविद्यालयका प्रोफेसर युआन छुनले नेपाली जनता एकीकृत नेकपा र स्थिर सरकारको पक्षमा रहेको बताएका छन् । विभाजित नेकपा नेपाल र नेपालीको हितमा छैन भन्ने उनको तर्क छ ।
दुई मुुलुक राम्रा छिमेकी र असल मित्र हुन् भन्दै उनले जुन दल सरकारमा आए पनि चीन नेपालमा स्थिरता चाहन्छ र मित्रवत सम्बन्ध कायम राख्छ भनेका छन् । चीनले भारतीय पक्षबाट आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै नेपालमा स्थिरता कायम रहोस् भन्ने अभीष्ट मात्र लिएको बताउँदै आएको छ ।
हालै नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको सराहना गरेको छ । अमेरिकी संसद्ले तिब्बत नीति तथा समर्थन ऐन पारित गरेर तिब्बतमा अमेरिकी उपस्थिति बढाउन खोजिरहेको सन्दर्भमा तिब्बतसँग सीमा जोडिएको मुलुकको भूमिमा चीनविरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना स्वाभाविक रहेको कूटनीतिज्ञहरु बताउँछन् ।