प्रचण्ड–नेपाल पक्षले हटायो गुरुङ र पोखरेललाई प्रदेश इन्चार्जबाट

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले लुम्बिनी र गण्डकी प्रदेशमा पार्टीका इन्चार्जबाट क्रमशः पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ ।
आज बसेको पार्टीका स्थायी समिति वैठकले गण्डकी प्रदेशको इन्चार्जमा देवेन्द्र पौडेल लुम्बिनीमा युवराज ज्ञवालीलाई तोकेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलनलाई सशक्त बनाउने निर्णय पनि गरेको स्थायी समिति सदस्य ज्ञावलीले बताएका छन्।

माधवकुमार नेपालको अध्यक्षतामा बसेको वैठकले पार्टी एकीकरणका बाँकी काम पूरा गर्न सुझावका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली गठन गरेको छ ।
टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भीम रावल, मात्रिका यादव, लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीको बारेमा तथा पार्टी संगठनको एकीकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिन भित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकले संसद विघटनका विरुद्ध अन्य राजनीतिक पार्टीहरु सँगपनि वार्ता गरी संयुक्त संघर्ष गर्ने पहललाई जारी राख्ने निर्णय पनि गरेको बताइएको छ ।