गुल्मीका चार स्थानीयतहमा नगर प्रहरी

दुई नगरपालिका र दश गाउँपालिका गरि १२ वटा स्थानीयतह गुल्मीमा रहेका छन् । जसमा यहाँ रहेका चार वटा स्थानीय तहहरुले आफ्नै निजी प्रहरी नियुक्ति गरिसकेका छन् । केही स्थानीय तहले नगरप्रहरी नियुक्ति गर्ने योजना बनाएका छन् । रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, ईस्मा गाउँपालिका र मालिका गाउँपालिकाले नगर मातहतमा रहने गरि नगरप्रहरी नियुक्ति गरिसकेका छन् ।

प्रथम पटक धुर्कोट गाउँपालिकाले नगरप्रहरी नियुक्ति गरेको थियो । २०७५ फागुन महिनामा एक हवल्दार र चार जना जवान सहित पाँच जना नगरप्रहरी नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिनुभयो । जसमा हवल्दारलाई मासिक रु १५ हजार पारिश्रमिक दिईन्छ । जवानहरुलाई मासिक १२ हजार रुपैयाँ गाउँपालिकाबाट पारिश्रमिक प्रदान गरिन्छ । नगरप्रहरीहरुलाई मासिक रासनभत्ता स्वरुप रु ३ हजार प्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो । स्थानीयतहमा शान्ती सुरक्षा कायम गर्नका लागि नगरप्रहरीको महत्वपूर्ण भूमिका हुने पन्थीले उल्लेख गर्नुभयो । विपद्को वेलामा पनि नेपाल प्रहरीहरुसँग समन्वय गरी उद्धारमा समेत उनीहरुको ठुलो भूमिका रहने पन्थीले बताउनुभयो ।

२०७६ माघ महिनामा रेसुङ्गा नगरपालिकाले नगरप्रहरी भर्ना ग¥र्यो । एक हवल्दार र ६ जना जवान सहित सात जना नगरप्रहरी नियुक्ति गरिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सेवा सर्त र सुविधाको लागि नगर सभाबाट कार्यविधि पारित गरि नगरप्रहरी छनोट गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले ६ जना नगरप्रहरी कार्यरत रहेका छन् । एक जना हवल्दारलाई मासिक रु १५ हजार र जवानहरुलाई मासिक रु १३ हजारका दरले नगरपालिकाबाट पारिश्रमिक प्रदान गरिँदै आएको छ । मासिक तीन हजारका दरले रासन भत्ता र बार्षिक रुपमा पोशाक उपलब्ध गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनुभयो ।

२०७७ कार्तिक महिनामा मालिका गाउँपालिकाले पनि नगरप्रहरी नियुक्ति गरेको छ । एक जना हवल्दार र ४ जना जवान सहित ६ जना नगरप्रहरी नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिनुभयो । जसमा हवल्दारलाई मासिक रु १४ हजार प्रदान गरिँदै आएको छ । जवानहरुलाई मासिक रु १३ हजार पाँच सय पारिश्रमिक प्रदान गरिँदै आएको भण्डारीले बताउनुभयो । मासिक रुपमा रासन भत्ता स्वरुप रु ३ हजार पाँच सय प्रदान गरिन्छ । उनीहरुलाई स्थानीय बजार अनुगमन, गाउँपालिका र नगरपालिकाको सुरक्षा बजार अनुगमन, आन्तरिक राजश्व उठाउने लगायतका कामको जिम्मेवारी दिइएको भण्डारीले बताउनुभयो ।

यस्तै इस्मा गाउँपालिकाले २०७७ मंसिरमा नगर प्रहरी नियुक्ति गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिनुभयो । एक जना हवल्दार र चार जना जवान सहित पाँच जना नगरप्रहरी नियुक्ति गरिएको महतले बताए । जसमा हवल्दारलाई मासिक रु १५ हजार र जवानहरुलाई मासिक रु १३ हजार पाँच सय पारिश्रमिक प्रदान गरिँदै आएको छ । जसमा मासिक रुपमा रु ३ हजार रासन भत्ता उपलब्ध गराउँदै आएको महतले जानकारी दिनुभयो ।