राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष शर्माले लिए सपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम आज पदभार ग्रहण गरेका हुन् ।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले शर्मालाई अध्यक्षमा चयन गरेको थियो । अर्थ मन्त्रालयका सह सचिव शर्मा यसअघि नै अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।
यसअघि प्रा. डा. उपेन्द्र काइरालालाई सदस्य हुँदै अध्यक्ष बनाउने तयारी भएको थियो । तर उनी सदस्यका रुपमा नियुक्त हुनासाथै चोतर्फी रुपमा सरकारको आलोचना भएको थियो । त्यसैकारण कोइराला अध्यक्ष बन्न पाएनन् । उनी उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी हुन । त्यसै कारण पनि उनको विरोध भएको थियो ।
शर्माको शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।