ट्रान्सपरेन्सी इन्टरनेसनलको उपाध्यक्षमा बुद्धिनारायण

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ चयन भएका छन् ।नवनिर्वाचित अध्यक्ष पद्मीनी प्रधानाङ्गको अध्यक्षतामा आज बसेको कार्यसमितिको २६७ औं बैठकले संस्थाको उपाध्यक्षमा श्रेष्ठलाई चयन गरेको बताइएको छ ।
त्यस्तै महासचिवमा मुकुन्द बहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई पुनः चयन गरिएको बताइएको छ। संस्थाको २०७७ पुस २० गते सम्पन्न साधारणसभाबाट चुनिएका अध्यक्ष प्रधानाङ्ग लगायत ९ कार्यसमिति सदस्यहरु मध्येबाट पदाधिकारी चयन गरिएको बताइएको छ ।
संस्थाका सदस्यहरुमा डा. सागरराज शर्मा, सुरेन्द्रवीर मालाकार÷ राष्ट्रिय व्यवसायिक पहल, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ र मदनकृष्ण शर्मा रहेका छन् । कार्यसमितिद्वारा महासचिव मुकुन्द बहादुर प्रधानलाई प्रवक्ता र सदस्य कृष्ण ज्ञवालीलाई सह–प्रवक्ता पनि तोकिएको छ।
नयाँ कार्यसमितिले निवर्तमान अध्यक्ष र कार्यसमितिलाई धन्यवाद दिदै नयाँ परिवेशलाई मध्यनजर गर्दै आगामी दिनमा संस्थाको रणनीतिक दिशामा नयाँपन ल्याउने बारे पनि छलफल गरेको छ।