भगौडाहरुको भ्रममा नफस्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा आयोजित आफू समर्थित भेला तथा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई÷चार जना नेताले पार्टी छोड्दैमा आफ्नो उद्देश्य कमजोर नहुने बताए । उनले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने आफ्नो उद्देश्य पूरा गरेरै छाड्ने दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले गणतन्त्र, लोकतन्त्रका लागि आफू ५० वर्ष संघर्ष गरेकाले त्यसमा कुनै खतरा आउन नदिने बताएका छन् । सरकारको कदम असंवैधानिक हो भन्नेहरुलाई संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा काम गर्न नदिएका कारण नयाँ जनादेशमा जाने निर्णय गरिएको बताए ।
अन्तर्राष्ट्रिय प्रचलन, संविधान र जुन हिसावले पनि प्रतिनिधिसभा पुननस्र्थापना हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अव चुनावबाटै नयाँ प्रतिनिधिसभा गठन हुने बताए । उनले चुनाव तोकिएकै मिति वैशाख १७ र २७ गते हुने हुने दावी गर्दै उनले सवैलाई निर्वाचन अभियानमा लाग्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गएर गाली गर्ने, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भन्दै गालीगलौज गरेर हिँडेको बताउँदै प्रचण्ड नेपाल पक्षको नेकपालाई १० सिट जितेर देखाउन चुनौती दिए । आफूहरुलाई गाली गर्ने फुर्सद नभएको बताउँदै उनले आफ्नो पार्टी विकासका समस्या निराकरण गर्नमा केन्द्र्रित भएको बताए । आफूहरुको सपना नै देश विकास गर्नु र भ्रष्टाचार अन्त्य गर्नु रहेको बताउँदै उनले पार्टी महाधिवेशनमा आफूसँग अध्यक्ष पदमा पराजित भएका माधव नेपाललाई अध्यक्षको मोह पलाएकै कारण पार्टी फुटको स्थितिमा पुगेको बताए ।
प्रधानमन्त्री ओलीले आफन्त नभएका कोही पनि हुँदैनन्, तर टपक्क टिप्दै राख्नु ठीक होइन भन्दै आफूले त्यसो नगरेको बताए ।
भारतले हडपेको जमिन नेपालको नक्सामा सामेल गर्दा केही नेताहरूलाई टाउको दुखेको बताउँदै ओलीले भारतसँगको सम्वन्ध विगारेको आरोप आफूमाथि लागेको बताए । उनले भारतसँग नेपालको सम्बन्ध अझै पनि राम्रो रहेको बताउँदै आफ्नो अधिकार सुरक्षित राख्दा सम्बन्ध नबिग्रने बताए ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो भन्दै प्रधानमन्त्री ओलीले ५८ वर्षदेखि भारतले हडपेको भूमिलाई सामेल गरी संविधान संशोधन गरेको बताए ।
ओलीले देशको पक्षमा, जनताको पक्षमा काम गर्नेलाई भोट दिएर जिताउन जनताहरुलाई आग्रह पनि गरेका छन् । आफू नेतृत्वको सरकारले गरेको विकासको काम सबैले देखेको बताउँदै थप विकासको काममा आफू लागिपरेको बताए ।
सदूरपश्चिमलाई अब पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा, स्वास्थ्य, रोजगारी र बस्ती व्यवस्थापन जस्ता समस्या निराकरण गर्न आफूहरु लागेको बताए ।