वर्तमान सरकारको ज्यादतीका विरुद्धका काक्रममा सहभागी बन्न गुल्मी काँग्रेसको आव्हान
वर्तमान सरकारको ज्यादतीका विरुद्ध नेपाली काँग्रेस केन्द्रिय समितिले विरोधका कार्यक्रम आव्हान गरेसँगै गुल्मी काँग्रेसले विरोधका कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह गरेको छ । नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय समितिले आव्हान गरेको यहि पौष २५ गते देखि माघ ८ गतेसम्मका विरोधका कार्यक्रममा सहभागि बन्न सम्पूर्ण प्रजातन्त्रप्रेमीहरुमा आग्रह गर्नुभएको छ ।
सभापति श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यहि पौष २५ गते यस जिल्लाका चार वटै प्रदेशमा, माघ ३ गते जिल्लाका १२ वटै स्थानीयतहमा र माघ ८ गते जिल्लाका ९३ वटै वडामा विरोधका कार्यक्रम गर्ने उल्लेख गरिएको छ । सरकार गठनको पर्याप्त विकल्प हुँदाहुदै संविधानको अपव्याख्यान गरि बिना कारण संसद भङ्ग गरि देश र जनतालाई आर्थिक बोझ बोकाउने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्य निन्दनीय रहेको सभापति श्रेष्ठले बताउनुभएको छ ।
सरकारको संविधान विरोधी गतिविधी, लोकतन्त्र माथिको हस्तक्षेप र जनताको आवाजलाई मुखरीत गर्ने एक मात्र संवैधानिक थलो संसदलाई विघटन गरी ताजा जनअनुमोदनका नाममा जनतामा जाने हाँस्यस्पद तर्कले नेपाली जनता निराश बनेका उल्लेख गर्नुभयो । संसदको पुर्नस्थापना गर्नु अहिलेको प्रमुख आवश्यक रहेको उल्लेख गर्दै सभापति श्रेष्ठले दशकौँ देखि नेपाली जनताको त्याग, वलिदान र सर्घषबाट प्राप्त उपलब्धीहरुको संरक्षण गर्ने दायित्व नेपाली काँग्रेसको काँधमा रहेको बताउनुभयो ।
शान्ती प्रक्रियाको नेतृत्व देखि संविधानको निर्माण र सम्पूर्ण तहका निर्वाचन गरेर यो संविधानको व्यवहारिक प्रयोग नेपाली काँग्रेसकै अगुवाईमा भएको स्मरण गराउँदै उहाँले भन्नुभयो ‘त्यसैले अहिले पुनःएकपटक संवैधानिक रुपमा बाटो बिराएको शक्तिलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने दायित्व पनि इतिहासले नेपाली काँग्रेसकै काँधमा सुम्पेको छ ।’
वर्तमान सरकारका यी सम्पूर्ण ज्यादतीका विरुद्धमा नेपाली काँग्रेस केन्द्रिय समितिले आव्हान गरेको कार्यक्रमहरुमा उत्साहजनक सहभागिताका लागि जिल्ला, क्षेत्र, प्रदेश र स्थानीयतहका सम्पूर्ण प्रजातन्त्रप्रेमीहरुमा प्रेस विज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।